काठमाडौंमा आजदेखि मेलम्चीको पानी

होस्ट खबर २३ मंसिर २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं : काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले आजदेखि मेलम्चीको पानी धारा–धारामा पठाउने भएको छ । बाढीका कारण बन्द भएको पानी पुनः उपत्यकाबासीलाई वितरण गर्न लागिएको हो ।

केयूकेएलका प्रवक्ता प्रकाशकुमार राईले चाबहिलस्थित महाँकालचौरको पानी ट्यांकीबाट पानी वितरण सुरु गरिने जानकारी दिए । उनका अनुसार आज बिहान साढे ८ बजेदेखि नै पानी धारा धारामा पठाइनेछ ।

‘अहिले ट्यांकीमा पानी आइरहेको छ । आज बिहानदेखि वितरण थाल्छौँ । अबको दुई चारदिनमै १७ करोड लिटर पानी उपत्यकामा वितरण हुन्छ,’ प्रवक्ता राईले भने । केयूकेएलका अनुसार उपत्यकामा दैनिक करिब ४३ करोड लिटर पानीको माग छ । मेलम्चीको पानीले करिब ४० प्रतिशत पानी आपूर्ति गर्छ ।

केही समय पानी पठाएपछि सुरुङ परीक्षणका लागि ०७८ असार १ गते सुरुङ बन्द गरिएको थियो । सोही दिन आएको बाढीपहिरोले आयोजनाको हेडवर्क्स, बाँध र सुरुङमा क्षति पुर्याएको थियो । २२ वर्षको प्रतीक्षापछि पहिलोपटक गत वर्ष ०७८ चैत १५ गतेदेखि काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण गरिएको थियो ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्