को बन्ला अबको कर्णाली प्रदेशको मुख्यमन्त्री ?

होस्ट खबर १४ मंसिर २०७९, बुधबार
4 Min Read
Aa

सुर्खेत : मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको प्रत्यक्षतर्फको मतगणना कर्णाली प्रदेशमा सकिएको छ । प्रतिनिधि सभा र प्रदेश सभाको मतगणनालाई नियाल्ने हो भने कर्णाली प्रदेशमा गठबन्धन बलियो देखिन्छ । प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १२ मा ११ सिटमा विजयी हासिल गरेको छ । प्रदेश सभातर्फ प्रत्यक्षमा २४ निर्वाचन क्षेत्र रहेकोमा कांग्रेस र माओवादीले समान ९–९ सिट गरी गठबन्धनले १८ सिट जितेको छ । यस्तै नेकपा एमालेले ५ सिट जित्दा १ ठाउँमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

कर्णाली प्रदेश सभामा प्रत्यक्ष र समानुपातिक गरी ४० जना सांसद रहन्छन् । जसमध्ये बहुमतमा प्रदेश सरकारमा जान कुनै पनि दललाई २१ सिट आवश्यक पर्छ । कुनै एक दलले यो अंकगणित पूरा गर्न नसके पनि गठबन्धन गरी चुनावमा होमएका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको भने प्रत्यक्ष र समानुपातिक गरी बहुमत पुग्ने देखिन्छ । यसरी निर्वाचनको मत परिणामसमेत सार्वजनिक भइसक्दा सबैको चासोको बिषय बनेको छ– कर्णालीको मुख्यमन्त्री को रु त्यसो त निर्वाचन अगावै मुख्यमन्त्रीको दावेदार भनेर कतिपय सांसदहरु चुनावमा होमिएका पनि थिए ।

कर्णाली प्रदेशमा अवको मुख्यमन्त्रीका लागि प्रमुख तीन दलबाट विभिन्न उम्मेदवारहरु आकांक्षी रहेका छन् । नेपाली कांग्रेसबाट मुख्यमन्त्रीमा पुनः निरन्तरता पाउने सोचमा छन् कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाही । यद्यपि यसका लागि सरकार कसरी बन्छ र गठबन्धनको निर्णय के हुन्छ भन्नेमा भर पर्छ । शाही हुम्ला प्रदेश सभा (ख) बाट विजयी भएका थिए । यस्तै नेपाली कांग्रेसबाट मुख्यमन्त्रीका अर्का आकांक्षी हुन् । जाजरकोट प्रदेश सभा (ख) बाट उम्मेदवार बनी विजयी भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव विक्रम शाह । कर्णाली प्रदेशको मुख्यमन्त्री बन्नकै लागि उनले प्रदेश सभा निर्वाचनमा चुनाव सहभागी भएको कांग्रेसका केही नेताहरू बताउँछन् ।

मुख्यमन्त्री शाहीसँगै जाजरकोटका राजीवविक्रम शाहको चर्चा सुरु भएको छ। शाह आफूले नभने पनि गठबन्धको केन्द्रमा माओवादीका शक्तिलाई भाग परेपछि शीर्ष नेताहरूले नै उनलाई प्रदेशबाट लडाउनुले पनि केही अर्थ राख्दछ।

तर, बहालवाला मुख्यमन्त्री शाही भने ढुक्क छन्। उनकै निर्वाचन क्षेत्र हुम्ला पुगेर कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनाव जिताएर पठाए जीवनबहादुर शाहीलाई नै मुख्यमन्त्री बनाउने आश्वासनले दिएका थिए।

यस्तै, नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्रीको आकांक्षीमा २ जना दाबेदार रहेका छन् । २०७४ को निर्वाचनमा पश्चात् पनि कर्णालीले पहिलो मुख्यमन्त्री माओवादी केन्द्रका महेन्द्र बहादुर शाही बनेका थिए । यसपटक पूर्व मुख्यमन्त्री शाही प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेपछि नै माओवादी केन्द्रका विभिन्न नेताहरूलाई मुख्यमन्त्रीको आकांक्षीको रूपमा हेरिएको थियो । मुख्यतः माओवादी केन्द्रबाट कर्णाली प्रदेशको मुख्यमन्त्रीको लागि रुकुम पश्चिम प्रदेश सभा (ख) बाट निर्वाचित भएका राजकुमार शर्मा र सुर्खेत क्षेत्र नम्बर २ प्रदेश सभा (ख) बाट निर्वाचित भएका विद्यमान बिष्ट चर्चामा रहेका छन् । यदि कर्णाली प्रदेशमा माओवादीको सरकार बनेको खण्डमा यी दुई मध्ये एक मुख्यमन्त्री बन्ने देखिन्छ ।

नेकपा एमालेबाट कर्णाली प्रदेशको मुख्यमन्त्रीको दाबेदार हुन् । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेल र कर्णाली प्रदेश अध्यक्ष विनोद कुमार शाह । कँडेल सुर्खेत २ प्रदेश सभा (क) बाट निर्वाचित भएका हुन् । उनी २०७४ को निर्वाचनमा पनि यसै क्षेत्रबाट निर्वाचित भएका थिए । अघिल्लो निर्वाचनमा नै मुख्यमन्त्री बन्ने प्रवल सम्भावना हुँदाहुँदै पनि तत्कालीन समयमा एमाले र माओवादी मिलेर बनेको नेकपामा आएको अन्तरद्वन्द्वका कारण कँडेलको मुख्यमन्त्री बन्ने आकांक्षा पुरा हुन सकेन । साथै यसपटक मुख्यमन्त्री बन्ने आकांक्षाले कँडेल पुनः प्रदेश सभाको उम्मेदवार बनेका थिए र निर्वाचित पनि भएका छन् । यस्तै नेकपा एमालेबाट मुख्यमन्त्रीमा दैलेख क्षेत्र नम्बर २ प्रदेश सभा (ख) बाट उम्मेदवार बनेका विनोद कुमार शाह पनि आकांक्षी हुन् । उनी नेकपा एमाले कर्णाली प्रदेश अध्यक्ष पनि हुन् ।
यसरी मुख्य तिन दलबाट छ जना कर्णाली प्रदेशको मुख्यमन्त्रीका लागि आकांक्षी रहेका छन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array