सांसद उम्मेदवार किर्ते अभियोगमा जेलमा

होस्ट खबर १८ कार्तिक २०७९, शुक्रबार
1 Min Read
Aa

बाँके : राष्ट्रिय जनमुक्ति पार्टीबाट बाँके क्षेत्र नं. २ का उम्मेदवार बनेकी विद्या शर्मा सरकारी कागजात किर्ते गरेको आरोपमा जेल परेकी छन् ।

नेपालगञ्जका ‘राजनीतिक हस्ती’ डा. धवलशमशेर राणा, मो इस्तियाक राईसँग चुनावी प्रतिस्पर्धा गर्ने अठोटका साथ उम्मेदवार बनेकी शर्माले असोज २३ गते नेपालगञ्जस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आफ्नो उम्मेदवारी दर्ता गराएकी थिइन् ।

‘घर’ चुनाव चिह्न र ‘देश बचाऔं, देश बनाऔं’ नारा रहेको उक्त पार्टीले ‘नयाँ नेपाल निर्माणको संवाहक’ विद्या शर्मा लेखिएको पर्चा समेत बनाइसकेको छ । तर, सरकारी कागजात किर्ते गरेको आरोपमा अदालतले पुर्पक्षका लागि थुनामा पठाएको शर्माले जेलभित्रबाटै चुनाव लड्नुपर्ने देखिएको छ ।

शर्मालाई हाल बर्दिया कारागारमा राखिएको छ । उक्त कारागारका जेलर सन्तोष विकले भने ‘सरकारी कागजात किर्तेमा विद्या शर्मालाई बाँकेबाट बर्दिया कारागारमा ल्याइएको छ ।’बाँके जिल्ला अदालतले शर्मालाई छोरीको जन्मदर्ता किर्ते गरेको आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । अदालतको आदेशपछि जेल पुगेकी शर्मासँग यसबारेमा बुझ्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन ।

शर्माको घर नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १५ मा पर्छ भने माइती वडा नं. १६ मा छ । छोरीको जन्मदर्ता वडा नं. १६ बाट बनाएकी शर्माले छोरीको नयाँ जन्मदर्तामा उमेर घटाएको पाइएको बाँके प्रहरीको भनाइ छ । नेपाल समाचारपत्र दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array