संवेदनशील मतदान स्थलमा विशेष सुरक्षा

होस्ट खबर १३ कार्तिक २०७९, आईतवार
1 Min Read
Aa

नेपालगञ्ज : आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि बाँके जिल्लाका अधिकांश मतदान स्थललाई अति संवेदनशील मानेर सोहीबमोजिमको सुरक्षा प्रबन्ध मिलाइँदैछ।

भारतसँग सीमाना जोडिएका तथा विभिन्न कारणले संवेदनशील मानिएको बाँकेमा रहेका १३८ मतदान स्थलमध्ये १०८ लाई अति संवेदनशील मानेर सोहीबमोजिम सुरक्षा योजना बनाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले दिएको जानकारी अनुसार निर्वाचनलाई शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न सुरक्षा निकायले विशेष प्रकारको तयारी गरेको छ। जिल्लाका १०८ वटा मतदान स्थललाई अति संवेदनशील घोषित गरेर ती स्थानको सुरक्षाका लागि विशेष प्रबन्ध मिलाइएको उनले बताए। १३८ मतदान स्थलमध्ये १०८ लाई अति संवेदनशील र ३० मतदान स्थललाई संवेदनशील घोषणा गरेर सोहीबमोजिमको सुरक्षा व्यवस्था मिलाइएको छ।

निर्वाचन सुरक्षाका लागि सबै सुरक्षा निकायको संयुक्त सुरक्षा टोली हरेक मतदान स्थलमा परिचालन गरिने र आवश्यक परे तत्काल सुरक्षा बल थप्न सक्ने गरी समेत सुरक्षाकर्मीलाई सतर्क राखिने भएको छ। खुला सिमानाका कारण साना हतियार र भारतीय अपराधीहरू सहजै नेपाल छिर्न सक्ने आशङ्काले पनि सुरक्षा चुनौती थपिएको जनाइएको छ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्