मानवसेवा र प्रशान्ति बृद्धाश्रमसंगै बागीना, देउसी देउती मन्दिरमा

होस्ट खबर ७ कार्तिक २०७९, सोमबार
3 Min Read
Aa

सुर्खेत : बागीना समूह सुर्खेतले यस पटकको लक्ष्मी पूजा मानवसेवा आश्रम र प्रशान्ति बृद्धाश्रममा आश्रित नागरिकहरुलाई भोजन गराएर मनाएको छ ।

तीन दशकदेखि नेपालको कला संस्कृति संरक्षण र प्रवद्र्धनमा लागिपरेको बागीनाले लक्ष्मी पूजाको अवशर पारी मानव सेवा आश्रम र प्रशान्ति बृद्धाश्रमका लक्ष्मिनारायण र दिनदुखीहरुसंग मनाएको हो ।

अघिल्लो बर्ष समूहले नेपालको प्रसिद्ध पर्यटकिय स्थल काँक्रेबिहारमा देउसी भैलो खेलेर संस्कृति संरक्षणा तथा पर्यटन प्रवद्र्धनको सन्देश दिएको थियो ।

‘यो पटक मानवसेवा आश्रमका दाजुभाइ दिदिबहीनीहरुलाई भोजन गराई देउती मन्दिरमा भैलो खेलियो’, बागीना समूहका संरक्षक सल्लाहकार एवं बरिष्ठ कलाकार गंगा के.सी.ले भने, ‘प्रशान्ति बृद्धाश्रममा पनि हामीले जेष्ठ नागरिकहरुसंगै देउसी भैलो खेलेर खुशी साटासाट गरेका छौं ।’ उनका अनुसार बागीनाले मानव हितका लागि पनि सन्देश दिन यसो गरिएको हो ।

बागीनाका अध्यक्ष डिलबहादुर गुरुङ्गले धनधान्यले परिपूर्ण र आरोग्यताका लागि लक्ष्मी माताको पूजा गरिने जनविश्वासलाई अंगाल्दै दिनदुखीहरुसंग मन साट्ने पवित्र उद्देश्य बोकेर मानवताको सन्देश दिन आश्रम पुगिएको बताए । मनमा लक्ष्मीको बास भएमात्र मानव धनी हुने भएकाले मन भएकाहरुले सभ्यता र संस्कृतिको विकास गर्न सक्ने सन्देश दिन कार्यक्रमको आयोजना गरिएको संस्थाका सचिव भानुभक्त अधिकारीले बताए ।

श्री भनेकै लक्ष्मी र लक्ष्मी भनेकै धन भन्ने हिन्दु धर्मको मान्यतालाई आत्मसाथ गर्दै धनसंग मन जोड्नुपर्ने आजको आवश्यक्ता भएको बरिष्ठ कलाकार प्रेमदेव गिरीले बताए । बरिष्ठ कलाकारहरु भिमबहादुर कार्कीको भजनले कार्यक्रममा सवैको मन प्रफुल्लित गराएको थियो ।

बरिष्ठ कलाकार कुलमान नेपालीले तयार पारेको सोरठी नृत्य समेत कलाकारहरुले प्रस्तुत गरेका थिए । देउती बज्यै मन्दिरमा भने वीरेन्द्रनगर नगरपालिका वडा नम्वर ८ का अध्यक्ष टिकाराम शर्मा, १० का अध्यक्ष डिलबहादुर रखाल र वडा नम्वर ११ का वडाध्यक्ष खिमलाल देवकोटा, आरंग नेपालका बरिष्ठ कलाकार तथा रंगकर्मी प्रकाश पौडेलको उपस्थितीमा देउसी भैलो खेलिएको संस्थाका उपाध्यक्ष गणेश वस्नेतले जानकारी दिए । देउती मन्दिरमा वडा नम्वर १० र ११ को व्यवस्थापन रहेको थियो ।

देउसी भैलो कार्यक्रममा बागीनाका बरिष्ठ कलाकार टिकाभक्त भारती, गीत संगीत विभाग निर्देशक यज्ञ गिरी, उपनिर्देशक खम्वराज गिरी, सहसचिव ज्ञानबादुर नेपाली, देवराज गिरी, कोषाध्यक्ष मीनप्रसाद सुवेदी, सदस्यहरु सुन्दरमान श्रेष्ठ, मनु मन्दिर, खिम बस्याल, प्रकाश शाही, शेरबहादुर आचार्य गाइने, कलाकार गौमती गुरुङ्ग लगायत नृत्य विभागका कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array