कर्णालीका करिब ३ सय मतदानस्थल अतिसंवेदनशील

होस्ट खबर ६ कार्तिक २०७९, आईतवार
2 Min Read
Aa

सुर्खेत : सुरक्षाका दृष्टिकोणले कर्णाली प्रदेशका सात जिल्लाका करिब तीन सय मतदानस्थल अतिसंवेदनशील मानिएका छन्। आगामी मङ्सिर ४ गते हुने प्रदेशसभार प्रतिनिधिसभाको निर्वाचनका लागि दुई सय ६७ वटा मतदानस्थल अतिसंवेदनशील मानिएका हुन्।

जिल्लाका निर्वाचन सुरक्षा समितिले तयार पारेका प्रतिवेदनका अनुसार सबैभन्दा बढी अतिसंवेदनशील मतदानस्थल कालीकोटमा रहेका छन्। कालीकोटमा ७४ वटा मतदानस्थल अतिसंवेदनशील मानिएका छन्।

त्यसमध्ये, सल्यानमा ६३, दैलेखका ४८, सुर्खेतका २०, रुकुमपश्चिमका २१, डोल्पामा २३ र जाजरकोटका १८ मतदानस्थल अतिसंवेदनशील रहेको जिल्ला निर्वाचन सुरक्षा समितिले जनाएका छन्।

जिल्ला निर्वाचन सुरक्षा समितिका अनुसार सात जिल्लाका तीन सय २५ मतदानस्थल संवेदनशील रहेका छन्। जसमध्ये, सुर्खेतका ६, दैलेखका ६२, सल्यानका तीन, रुकुमपश्चिमका ४३, डोल्पाका २६, कालीकोटका २८ र जाजरकोटका ४२ वटा मतदानस्थल संवेदनशील देखिएका छन्।

प्रदेशभर एक सय ३८ वटा मतदानस्थल भने सामान्य रहेका छन्। कर्णालीका अन्य तीन जिल्ला जुम्ला, मुगु र हुम्लामा भने विपतका कारणले गर्दा अहिले मतदानस्थलको अवस्था बुझ्न नसकिएको बताएका छन्। अबको केही दिनमै मतदानस्थलको अवस्थाका बारेमा जानकारी लिने जिल्ला निर्वाचन सुरक्षा समितिले जनाएका छन्।

कर्णालीमा आगामी निर्वाचनका लागि प्रदेशभर नौ सय ३३ मतदानस्थल र एक हजार चार सय तीन मतदान केन्द्र निर्धारण गरिएको छ। आयोगका अनुसार कर्णालीमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रदेशभर १० लाख आठ हजार चार सय तीन मतदाता रहेका छन्।

कर्णालीमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आवश्यक तयारीलाई तीव्र पारिएको छ। यता निर्वाचनलाई भयरहित र शान्तिपूर्ण बनाउन सुरक्षा व्यवस्थालाई कडाइ गर्नेगरी तयारी गरिएको जिल्ला निर्वाचन सुरक्षा समितिले बताएका छन्।

समितिका संयोजकसमेत रहेका सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले अतिसंवेदनशील र संवेदनशील निर्वाचन केन्द्रका लागि सुरक्षा व्यवस्था मजबुद बनाइने बताए। उनले भने, ‘सुर्खेतका सन्दर्भमा कुराकानी गर्दा सेनाबाहेक तीन हजारभन्दा धेरै प्रहरी निर्वाचनका लागि परिचालन हुँदैछन्। जिल्लामा निर्वाचनका बेला शान्तिसुरक्षा कायम गर्न हाम्रो तयारी तीव्र छ।’

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्