आयोगले सोध्यो ४८ स्पष्टीकरणः ३० वटाको मात्र जवाफ

होस्ट खबर ५ कार्तिक २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं : निर्वाचन आयोगले शुक्रबारसम्म ४८ वटा स्पष्टीकरण सोधेको छ। आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेका अनुसार ४८ वटा स्पष्टीकरण सोधेकोमा ३० वटाको मात्र जवाफ प्राप्त भएको हो।

उनले भने, ‘‘आयोगले आचारसंहिता उलंघन भएमा २४ घण्टे स्पष्टीकरण सोध्ने गरेको छ। शुक्रबारसम्मको तथ्यांकअनुसार हामीले विभिन्न राजनीतिक दलका उम्मेदवार, संघसंस्था, कार्यालयसमेत गरी ४८ वटा स्पष्टीकरण सोधेका छौँ, त्यसमध्ये ३० वटाको जवाफ प्राप्त भएको छ।’’ आयोगले स्पष्टीकरणको जवाफका आधारमा थप कारबाही गर्ने उनको भनाइ छ।

आयोगले शुक्रबार नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ। आयोगले महामन्त्री शर्माविरुद्व आगलागी पीडितलाई पैसा वितरण गरेको पाइएको भन्दै उजुरी परेपछि स्पष्टीकरण सोधेको हो।

झापा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विश्वप्रकाश शर्मालाई आयोगले आगलागी पीडित केवल निरौलाको घर निर्माणको लागि अमेरिकाबाट मुनिन्द्र नेम्वाङको नेतृत्वमा जम्मा भएको दुई लाख ५० हजार केवल निरौला र उहाँको बुबालाई हस्तान्तरण गर्दै गरेको फोटो सार्वजनिक भएपछि स्पष्टीकरण सोधेको हो।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्