निर्वाचन आयोगले कसरी वितरण गर्छ उम्मेदवारलाई चुनाव चिह्न ?

होस्ट खबर २६ आश्विन २०७९, बुधबार
2 Min Read
Aa

काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका उम्मेदवारहरुलाई आज चुनाव चिह्न वितरण गर्दैछ ।

राष्ट्रिय दलको रुपमा मान्यता प्राप्त गरेको दलका उम्मेदवारले मात्र सम्बन्धित दलको निर्वाचन चिह् पाउँछन् । अन्य उम्मेदवारलाई भने निर्वाचन आयोगले निर्वाचन चिह्नहरुको समूहमध्येबाट कुनै एउटा चिह्न वितरण गरिन्छ ।

निर्वाचन चिह्न वितरणको विधि र प्रक्रिया यस प्रकार छ–

आयोगले स्वतन्त्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्दा स्वतन्त्र उम्मेदवारले प्रयोग गर्ने गरी निर्धारण गरेका निर्वाचन चिह्नको समूहबाट कुनै एउटा चिह्न प्रदान गरिन्छ ।

निर्वाचन चिह्न उम्मेदवार आफैंले वा उम्मेदवारले तोकेको प्रतिनिधिलाई प्रदान गरिन्छ । निर्वाचन अधिकृतले उम्मेदवार वा उम्मेदवारका प्रतिनिधिलाई निर्वाचन चिह्नको समूहबाट कुनै एउटा रोज्न लगाउँछन् ।

निर्वाचन चिह्न प्रदान गर्दा कुनै उम्मेदवार वा उम्मेदवारको प्रतिनिधि उपस्थित नभएमा अन्य उम्मेदवारहरुले रोजिसकेर बाँकी रहेका चिह्न मध्येबाट कुनै एउटा चिह्न निर्वाचन अधिकृतले तोकिदिन्छन् ।

एकभन्दा बढी उम्मेदवारले एउटै निर्वाचन चिह्न रोजेमा त्यस्ता उम्मेदवारहरुको नामको नेपाली वर्णानुक्रमको आधारमा जसको नाम पहिला आउँछ, उसैले प्राथमिकता पाउँछ ।

आयोगले उम्मेदवारहरुको अन्तिम नामावलीमा समावेश भएका उम्मेदवारहरुलाई मात्र निर्वाचन अधिकृतले निर्वाचन चिह्न वितरण गर्दछन् । आयोगले वितरण गरिसकेको निर्वाचन चिह्न फेरि परिवर्तन हुँदैन ।

उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिसकेपछि निर्वाचन अधिकृतले एकीकृत निर्वाचन व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट गर्दछन् । त्यही निर्वाचन चिह्न मतपत्रमा राखिन्छ ।

आयोगले कुनै उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिसकेपछि त्यस्तो उम्मेदवारले आफ्नो दल त्याग गरेमा वा अर्को दलमा प्रवेश गरेमा निजलाई प्रदान गरिएको निर्वाचन चिह्न परिवर्तन हुँदैन । त्यस्तो उम्मेदवार निर्वाचित भएमा सम्बन्धित दलले प्रमाणसहित अयोगमा उजुरी दिएमा निजको सदस्यता भने खारेज हुन्छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्