आम निर्वाचन २०७९: प्रत्यक्षको चुनाव चिह्न सेतो कागजमा रातो मसी

होस्ट खबर २५ आश्विन २०७९, मंगलवार
2 Min Read
Aa

काठमाडौं : जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले पर्सिबाट प्रत्यक्षतर्फको मतपत्र छपाइ गर्ने भएको छ । दशैंअघि सामानुपातिकतर्फको ४ करोड मतपत्र छपाइ पूरा गरेको केन्द्रले प्रत्यक्षतर्फको छपाइ शुरू गर्न लागेको हो ।

केन्द्रले करिब एक महिना लगाएर समानुपातिकतर्फको मतपत्र छपाइ पूरा गरेको थियो । निर्वाचन आयोगले प्रदेश र संघको प्रत्यक्षतर्फको मतपत्रको चिह्नमा सेतो कागजमा रातो रङले छपाइ गर्नेछ । समानुपातिकको सेतो कागजमा कालो रङको छपाइ भएको छ ।

केन्द्रका प्रवक्ता चित्रकुमार आचार्यले २७ गतेबाट समानुपातिकतर्फको ४ करोड थान मतपत्र छपाइ हुने जानकारी दिनुभयो । उनका अनुसार केन्द्रमा रहेको सुरक्षण मुद्रणालयको ४ वटा छापाखानामा मतपत्र छपाइ जारी राखेको छ । भदौ तेस्रो साता नमुना मतपत्र छपाइ पूरा गरेको केन्द्रले समानुपातिकको सूची तयार हुनासाथ समानुपातिकतर्फको मतपत्र छपाइ शुरू गरेको थियो । ‘दशैंअघि नै समानुपातिकतर्फको मतपत्र छपाइ पूरा गरेका छौं’ –प्रवक्ता आचार्यले भने ।

आयोगले २६ गते बुधबार अन्तिम नामावली प्रकाशन गरेलगत्तै प्रत्यक्षतर्फको मतपत्र छपाइ हुनेछ । आयोगको निर्देशनमा केन्द्रबाटै मतदान केन्द्रमा प्याकिङ गरी ढुवानी हुनेछ । तीन तहको सुरक्षा घेराभित्र मतपत्र मतदान केन्द्रमा पु¥याइनेछ । सकेसम्म स्थलमार्ग र स्थल मार्गले नसक्ने मतदान केन्द्रमा हेलिकोप्टरबाट ढुवानी गर्ने तयारी भइरहेको छ ।

केन्द्रले आगामी मङ्सिर ४ गते हुने प्रदेश र संघको निर्वाचनमा ८ करोड मतपत्र छपाइ गर्ने योजनाअनुसार प्रत्यक्षतर्फको ४ करोड मतपत्र छपाइ हुन लागेको हो । केन्द्रले करिब तीन साताभित्र प्रत्यक्ष तर्फको मतपत्र छपाई पुरा गर्ने तयारी गरेको छ ।

आयोगको निर्देशन अनुसार जिल्ला अनुसारको मतपत्र छपाइ हुनेछ । शुरूमा कम मतदाता भएको र त्यसपछि बढी मतदातामा भएको जिल्लाको मतपत्र छपाइ गर्ने तयारी भइरहेको छ । मतपत्र छपाइ सुरक्षार्थ सुरक्षण मुद्रणालयमा ५० र अन्य स्थानमा गरी करिब ६५ सीसीटिभीले निगरानी गरेको छ ।

मतपत्र छाप्न केन्द्रका करिब २ सय कर्मचारी खटिएका छन् । नेपाल समाचारपत्र दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्