प्रधानमन्त्रीकै दुईवटा जन्ममिति !

होस्ट खबर २५ आश्विन २०७९, मंगलवार
2 Min Read
Aa

काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नागरिकता र मतदाता नामावलीमा फरक फरक जन्ममिति पाइएको छ । डडेल्धुराबाट उम्मेदवारी दिएका प्रधानमन्त्री देउवाको मनोनयनविरुद्ध सोमबार निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा उजुरीसमेत परेको छ ।

नेपाली कांग्रेस बीपीका वरिष्ठ उपसभापति कर्णबहादुर मल्लले दिएको उजुरीमा उम्मेदवारी रद्द हुनुपर्ने मागसमेत गरिएको छ । देउवाको नागरिकतामा उनको जन्ममिति ३१ जेठ २००३ उल्लेख छ । तर मतदाता नामावलीमा भने ३१ जेठ २००२ लेखिएको छ ।

आइतबार उम्मेदवारी मनोनयन गरेका उम्मेदवारविरुद्ध सोमबार १० देखि ३ बजेसम्म दाबी विरोधको समय तोकिएको थियो । देउवाविरुद्ध उजुरी दिएका मल्लले नेपाली कांग्रेस बीपीका तर्फबाट डडेल्धुरामा प्रतिनिधिसभातर्फ प्रत्यक्षमा उम्मेदवारीसमेत दिएका छन् ।

कुनै बेला देउवाका सहयोगी मल्ल अहिले उनै देउवासँग चुनावी मैदानमा सँगै उत्रिएका छन् । मल्ल २०७४ को निर्वाचनमा कांग्रेसबाटै प्रदेश सभामा निर्वाचित भएका थिए ।

डडेलधुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले देउवाको उम्मेदवारीविरुद्ध उजुरी परेको पुष्टि गर्दै उजुरीमाथि कारबाही सुरु भइसकेको बताए । उनले आज निर्णय हुनेसमेत बताए ।

निर्वाचन आयोगले उम्मेदवारमाथि परेको उजुरीमाथि छानबिन गर्न मंगलबारसम्मको समय दिएको छ । उम्मेदवार विरुद्ध परेका उजुरीको निर्णय निर्वाचन अधिकृतले नै गर्न पाउने कानूनी व्यवस्था छ ।

यस्तै, नेपाली कांग्रेसबाट सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका विजयकुमार गच्छदारविरुद्ध पनि निर्वाचन आयोगमा उजुरी परेको छ। उनीविरुद्ध काठमाडौं महानगरपालिका–७ का विवेक अधिकारीले निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा उजुरी दिएका हुन् । अधिकारीले गच्छदारविरुद्ध ललिता निवास प्रकरणमा मुद्दा विचाराधीन रहेको भन्दै उम्मेदवारी खारेज गर्न माग गरेका छन् । राजधानी दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array