कहिलेबाट हुन्छ मौसममा सुधार ?

होस्ट खबर २१ आश्विन २०७९, शुक्रबार
2 Min Read
Aa

काठमाडौँ : देशका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा शुक्रबार मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो ।

सुदूरपश्चिम प्रदेशका केही, कर्णाली प्रदेशका थोरै र लुम्बिनी र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले उक्त क्षेत्रहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम हुनुका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको महाशाखाद्वारा जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख गरिएको छ ।

नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्नुका साथै कृषि, पर्यटन, पर्वतारोहणलगायत दैनिक जनजीवनसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

कहिलेबाट मौसममा सुधार हुन्छ ?
अहिले देशका विभिन्न ठाउँमा हल्कादेखि मुसलधारे वर्षा भइरहेको वरिष्ठ मौसमविद्‌ वरूण पौडेलले जानकारी दिए । उनकाअनुसार कतै गत ४८ घण्टादेखि त कतै ३६ घण्टादेखि लगातार पानी परिरहेको छ । ‘नेपालमा मनसुन सकिने बेलामा बङ्गालको खाडीमा न्यून चापीय क्षेत्रको विकास भएर अहिले वर्षा भइरहेको हो,’ उनले भने, ‘सकिनुअघि मनसुन अझ बढी सक्रिय भइदिएर यति पानी परेको हो ।’

यसपालि नेपालमा मनसुन ढिलो शुरू भएर सकिने समय पनि ढिलो भएको वरिष्ठ मौसमविद्‌ पौडेलले बताए । ‘त्यही भएर दशैँमा अहिले पानी परिरहेको हो । हुन त यसअघि दशैँमा पानी नपरेको चाहिँ होइन,’ उनले थपे ।

सामान्यतया नेपालमा अक्टोबर २ तारिखमा मनसुन सकिने गरेको उनी बताउँछन् । न्यून चापीय क्षेत्रको प्रभाव अहिले उत्तर/पश्चिमतर्फ लाग्ने क्रममा पूर्वी नेपालबाट पश्चिमतर्फ सरिरहेको वरिष्ठ मौसमविद्‌ पौडेलले बताए । ‘अबको एक/दुई दिन सुदूरपश्चिम प्रदेशमा सक्रिय हुने पूर्वानुमान छ । आइतवारबाट क्रमिक रूपमा मौसममा सुधार हुने देखिएको छ,’ उनले भने ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array