कर्णाली प्रदेशबाट ५० हजार बढी खसीबोका निर्यात हुँदा ६० करोड आम्दानी

होस्ट खबर १७ आश्विन २०७९, सोमबार
1 Min Read
Aa

सुर्खेत : कर्णाली प्रदेशले यो वर्ष दशैँमा लागि ५० हजारभन्दा बढी खसीबोका र भेडाच्यांग्रा बेचेको छ।

प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको पशुपक्षी विकास निर्देशनालयका अनुसार त्यति संख्यामा खसीबोका र भेडाच्यांग्रा प्रदेशबाट बेच्दा ६० करोडभन्दा बढी रकम भित्रिएको निर्देशनालयका सूचना अधिकारी मोहन गिरीले जानकारी दिए।

उनले भने, ‘स्थानीय र प्रदेश सरकारले विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गरी किसानलाई आकर्षित गर्ने प्रयास गरेकाले पनि पशुपालन व्यवसाय बढेको छ, त्यसैले उत्पादन पनि बढेको छ।’

अहिले प्रदेशका चारवटा नाका सुर्खेतको कर्णाली चिसापानी कुइने र हर्‍य, सल्यानको कालिमाटी काल्चे तथा कपुरकोट नाकाबाट मासुका लागि खसीबोका, भेडालगायत पशु प्रदेशबाहिर गइरहेका छन्। गत वर्ष पनि ५० हजारको हाराहारीमा पशु चौपाया मासुका लागि प्रदेशबाट बेचिएका थिए।

तीमध्ये केही खसीबोका बिक्री नभएर फिर्ता आएको सूचना अधिकारी गिरीले बताए। निर्देशनालयका अनुसार २ हजारभन्दा धेरै खसीबोका र भेडाच्यांग्रा फिर्ता भएका थिए।

दशैँ तिहारमा कर्णालीका विभिन्न जिल्लाबाट खसीबोका एवं भेडाच्यांग्रा देशका विभिन्न शहरमा बेचिने गरेको छ। विगतका वर्षभन्दा अहिले माथिल्लो कर्णालीका हिमाली जिल्ला जुम्ला, कालिकोट, हुम्ला, मुगु र डोल्पामा भेडाच्यांग्राको उत्पादन वृद्धि भएको देखिएको छ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array