अख्तियारमा वीरेन्द्रनगर सुर्खेतका उजुरी धेरै

होस्ट खबर १४ आश्विन २०७९, शुक्रबार
2 Min Read
Aa

सुर्खेत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा सबैभन्दा धेरै वीरेन्द्रनगरका उजुरी पर्ने गरेको पाइएको छ । आयोगको ३२औँ वार्षिक प्रतिवेदनअनुसार कर्णाली प्रदेशका ७९ पालिकामध्ये वीरेन्द्रनगरसँग सम्बन्धित उजुरी धेरै परेका हुन् । सुर्खेतकै भेरीगंगा नगरपालिका पनि धेरै उजुरी पर्नेमा पर्दछ ।

त्यसैगरी मुगुको सोरु गाउँपालिका र छायाँनाथरारा नगरपालिका, जाजरकोटको छेडागाड नगरपालिका र सर्केगार्ड गाउँपालिका, दैलेखको नौमुले गाउँपालिका, चामुण्डाविन्द्रासैनी नगरपालिका र महावु गाउँपालिका तथा हुम्लाको अदानचुली गाउँपालिकासँग सम्बन्धित उजुरी अख्तियारमा धेरै पर्ने गरेका छन् ।

आयोगका अनुसार सबैभन्दा धेरै उजुरी पर्ने जिल्लामा पनि सुर्खेत पहिलो नम्बरमा छ । सुर्खेतपछि दैलेख, मुगु, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, सल्यान, रुकुम (पश्चिम), डोल्पालगायतका जिल्लाका उजुरी परेको आयोगका निमित्त प्रमुख भेषराज रिजालले जानकारी दिए । उनका अनुसार क्षेत्रगत रूपमा भने स्थानीय तह, शिक्षा, वन, ऊर्जा तथा सिँचाइलगायतसँग सम्बन्धी उजुरी धेरै परेका छन् ।

आयोगको सुर्खेत कार्यालयमा आर्थिक वर्ष २०७८/०७९ मा सात सय ८० उजुरी दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्षबाट ६ सय ४५ उजुरी जिम्मेवारी सरेर आएका थिए । यसरी आयोगमा एक हजार चार सय २५ उजुरी परेका हुन् । जसमध्ये आठ सय ९० उजुरी फछ्र्यौट भएका छन् भने पाँच सय ३५ उजुरी यो वर्षका लागि जिम्मेवारी सरेको जनाइएको छ ।

सुर्खेतका दुई सय ९१ उजुरी दर्ता हुँदा दैलेखका दुई सय ३९, मुगुका एक सय ४९, कालीकोटका एक सय ४४ र हुम्लाका एक सय ४२ उजुरी आयोगमा परेका छन् । यस्तै जाजरकोटका एक सय ३६, जुम्लाका ९५, सल्यानका ९४, रुकुम(पश्चिमका ७५ र डोल्पाका ५५ उजुरी सुर्खेतस्थित अख्तियारको कार्यालयमा परेका हुन् ।

कार्यालय प्रमुख रिजालले उजुरी संकलन र त्यसको फर्छ्यौटका साथसाथै जनचेतनामूलक कार्यक्रमसमेत आयोगले गर्दै आएको जनाए । जसअन्तर्गत ४१ वटा सामुदायिक शिक्षा कार्यक्रम, ४६ वटा अन्तरक्रिया र भ्रष्टाचारविरुद्धको नागरिक निगरानी समूह गठनलगायतका गतिविधि गरिएको उनले जानकारी दिए।

यसैबीच आयोगले आफ्नो ३२औँ वार्षिक प्रतिवेदन बुधवार कर्णाली प्रदेश प्रमुखलाई बुझाएको छ । प्रदेश प्रमुख तिलक परियारलाई प्रतिवेदन हस्तान्तरण गरिएको हो ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्