चीनको प्रतिस्पर्धामा नेपाली चिया

होस्ट खबर २३ भाद्र २०७९, बिहीबार
2 Min Read
Aa

काठमाडौ : नेपालले आफ्नो चिया टेस्टिङ (स्वाद जाँच)का लागि चीनमा नमुना पठाउने भएको छ । नेपालमा उत्पादित चिया चीन निर्यात हुने भएपछि स्वाद जाँचका लागि त्यता पठाउन लागेको हो ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईका अनुसार सेप्टेम्बर १८–२१ सम्म चीनको बेजिङमा हुने चिया प्रतिस्पर्धा (टी कम्पिटिसन)मा भाग लिने र नेपालको चियालाई प्रतिस्पर्धा गराउनका लागि विभिन्न १६ वटा चियाका नमुना पठाउन लागिएको हो ।

“नेपाली चियाका १६ वटा नमुना आज विहिबार पठाउन लागेका छौँ, नमुना तयार पारिसकिएको छ,” उनले भने । चीनमा यस्तो प्रतिस्पर्धा बर्सेनि हुने गरेको छ । नेपालले भने पहिलो पटक भाग लिने भएको हो ।

चीनले नेपाली चिया लिने सहमति जनाएपछि मात्र प्रतिस्पर्धामा भाग लिने कुरा तय भएको हो । प्रतिस्पर्धामा नेपालको चियाले आफ्नो पहिचान स्थापित गरेपछि चीन निर्यात गर्न झन् सजिलो हुने उनको भनाई छ ।

यो प्रतिस्पर्धामा भाग लिएपछि दुई देशका व्यापारीबीच छलफल गराउने कार्यक्रम पनि तय भएको छ तर छलफलको मिति भने तय भएको छैन । व्यापारीसँग छलफल गरिसकेपछि चीनमा नेपाली चिया प्रदर्शनी गर्ने तयारी बोर्डको छ ।

बोर्डका प्रवक्ता एवं निर्देशक डा. दीपक खनालले नेपालको चिया चीन पठाउने प्रक्रिया तीव्र रूपमा अगाडि बढेको बताए । बोर्ड तथा नेपालस्थित चिनियाँ दूतावासका प्रतिनिधिबीच यस विषयमा नियमित छलफल भइरहेको छ ।

साउनको अन्तिम हप्ता परराष्ट्रमन्त्री डा. नारायण खड्काले गरेको चीन भ्रमणका क्रममा समकक्षीसँग नेपालको चियाबारे आयात–निर्यातबारे सहमति भएको थियो । उक्त भ्रमणपछि काठमाडौंमा नेपाली र चिनियाँ दूतावासका अधिकारीबीच पटक–पटक छलफल भएर यसबारे धेरै पक्षमा सहमति भइसकेको छ । गोरखापत्र दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array