आरोप पुष्टि भए सन्दीपलाई १० देखि १२ वर्ष कैद

होस्ट खबर २३ भाद्र २०७९, बिहीबार
3 Min Read
Aa

काठमाडौं : नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कार आरोप लागेपछि नेपाल प्रहरी प्रमाण संकलनतिर लागेको छ ।

लामिछानेविरुद्ध काठमाडौं गौशाला प्रहरी वृत्तमा एक किशोरीले मंगलबार बलात्कारविरुद्ध जाहेरी दिएकी थिइन् । यसपछि प्रहरी परिसर काठमाडौंले उनीमाथि लागेको आरोप पुष्टि हुने प्रमाण खोजी थालेको हो ।

‘गत ५ भदौ राति सन्दीपले बलात्कार गरेको’ भन्दै १७ वर्षीया किशोरीले मंगलबार प्रहरीमा जाहेरी दिएकी हुन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी भरत बोहरा ‘लामिछानेमाथि बलात्कारको जाहेरी परेपछि उनी बसेको भनिएका नगरकोट र काठमाडौंका होटलका सीसीटीभी फुटेज संकलन गरेको,’ बताउँछन् ।

‘हाम्रो टोलीले लामिछानेमाथि परेको जाहेरीबारे अनुसन्धान थालिसकेको छ, उनी बसेको भनिएको नगरकोट र काठमाडौंका होटलको सीसीटीभी फुटेज संकलन लिएका छौं, अन्य आवश्यक प्रमाण खोजी भइरहेको छ,’ काठमाडौं प्रहरी प्रमुख बोहोराले भने ।

प्रहरीले सीसीटीभी फुटेज संकलन क्रममा काठमाडौं र नगरकोटका होटल सञ्चालकसँग सोधपुछसमेत गर्दै होटल दर्ताको प्रमाण पनि मागेको छ । स्रोतका अनुसार दुवै ठाउँका होटल पुगेको सीसीटिभीबाट पनि पुष्टि भइसकेको छ ।

गत ५ भदौ राति पिंगलास्थानस्थित होटलमा ३०५ नम्बरको कोठामा बसेको र बिहान त्यहाँबाट निस्किएको फुटेजमा देखिएको छ ।

होटल काठमाडौं इनमा लामिछाने ती युवतीसहित राति ११ बजेर ५५ मिनेट जाँदा पुगेका थिए । उनीहरू बिहान साढे ६ बजेतिर त्यहाँबाट फर्किएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

बलात्कार आरोप लागेका लामिछाने हाल क्याराबियन प्रिमियर लिग (सीपीएल) क्रिकेट खेल्न जमैकामा छन् । केन्यामा पाँचवटा ‘टी–२०’ खेलेपछि उनी जमैका गएका थिए । आफूमाथि लागेको आरोपबारे लामिछाने मौन छन् ।

लामिछानेले केन्या जानु अघिल्लो दिन ‘आफूलाई काठमाडौं र भक्तपुरका विभिन्न ठाउँमा लगेको र राति होटलमा लगेर दुईपटक बलात्कार गरेको’ किशोरीको आरोप छ ।

आरोप पुष्टि भए १० देखि १२ वर्ष कैद

लामिछानेमाथि लागेको आरोप पुष्टि भए १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुनेछ । कानुनअनुसार मुलुकी अपराधसंहिताको दफा २१९ को जबरजस्ती करणी गर्न नहुने कसुरको उपदफा ९३ं० ९घ०मा पीडित १६ वर्षदेखि माथि १८ वर्षसम्म भए १० देखि १२ वर्षसम्म कैद सजाय हुन्छ ।

त्यस्तै, उपदफा २ मा १८ वर्षभन्दा कम उमेरका कुनै बालिकासँग सहमतिमा सम्बन्ध राखे पनि ‘करणी’ मानिने उल्लेख छ । पीडितले प्रहरीसमक्ष दिएको जाहेरीमा ‘आफूलाई पिंगलास्थानको होटल काठमाडौं इनमा दुईपटक बलात्कार गरेको’ भनेकी छन् ।

प्रहरी अधिकारीका अनुसार पीडित ‘नाबालिग’ भएकाले मुलुकी अपराधसंहिता २०७४ को दफा २५५ मा उल्लेखित ‘बालयौन दुरुपयोग गर्न नहुने’ कसुरसमेत आकर्षित हुन सक्ने सम्भावना रहन्छ । राजधानी दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्