नेपालका विश्व सम्पदा संकटमा, सरकार गैरजिम्मेवार

होस्ट खबर ११ भाद्र २०७९, शनिबार
8 Min Read
Aa

काठमाडौँ : नेपालबाट विश्वसम्पदा सूचिमा परेको पर्यटकीय क्षेत्र १० वटा छन् । त्यसमध्ये काठमाडौँ उपत्यकाका मात्रै आधाभन्दा बढी छन् । तर ती सबै भूकम्पपछिको पुनर्निर्माणमा सुस्त गतिले चलिरहेका छन् ।

त्यसमध्यै धेरै विश्व सम्पदा सूचिमा परेका क्षेत्र टेकोमै अडिएका छन् । विश्वकै हिन्दु धर्मावलम्बीहरुको पवित्र ठाउँ मानिने पशुपतिनाथमा पनि भूकम्पपछिको पुनर्निर्माण सुस्त छ । मुख्य मन्दिर पहिलेकै अवस्थामा फर्किएपनि विश्व सम्पदा सूचिमा परेको पर्यटकीय क्षेत्रको व्यवस्थापनका लागि भने उतिसारो काम भएको छैन ।

विश्व सम्पदा सूचिमा रहेको अर्को पर्यटकीय क्षेत्र हो, स्वयम्भु । बौद्ध धर्मावलम्बीहरुका लागि स्वयम्भु आफैँमा विशेष अवस्थिती बोकेको पर्यटकीय क्षेत्र हो । तर भूकम्पले स्वयम्भुलाई पनि बाँकी रहेन । स्वयम्भुका केही ठाउँमा अहिले पनि टेको छ । ती टेकोहरु हट्न बाँकी छ । पुनर्निर्माण पूर्ण रुपमा सकिएको छैन ।

२०७२ सालको भूकम्पले भत्काएका धेरै पर्यटकीय क्षेत्रमध्ये स्वयम्भु पनि एक थियो । जुन आज पनि विगतमा जस्तो थियो । त्यस्तै देखिन्छ । अर्थात विश्व सम्पदा सूचिमा रहेको पर्यटकीय क्षेत्र जति व्यवस्थापन हुुन पर्ने थियो । त्यो भएको देखिदैन ।

यस्तै भक्तपुरको चाँगुनारायण मन्दिरको अवस्था पनि अझै सुध्रेको छैन । भूकम्पले गर्दा ढलेको यो पर्यटकीय क्षेत्र अहिले पनि उस्तै छ । जुन सम्पदा विश्व सम्पदा सूचिमा सुचिकृत छ । सरकारको ध्यान त्यतापट्टि गएको छैन ।

बौद्धमा रहेको बौद्धनाथ स्तुपा पनि विश्व सम्पदा सूचिमा रहेको पर्यटकीय क्षेत्र हो । नेपालको एक महत्वपूर्ण पर्यटकीय क्षेत्र भएपनि वरिपरीका घरहरुले गर्दा बौद्धको सुन्दरता विस्तारै हराउँछ कि भन्ने चिन्ता छ । घरहरुको घेराउले गर्दा बौद्धनाथ जसरी व्यवस्थापन गर्नुपर्ने थियो । त्यो हुन सकेको छैन ।

यस्तै बसन्तपुर दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर र पाटन दरबार स्क्वायरको समस्या पनि उस्तै छ । तीन वटै क्षेत्रमा अहिले पनि पर्यटकको ठूलो लाम लाग्ने गरेको छ । बिहानैदेखि बेलूकीसम्म पर्यटकहरु रमाउने ठाउँ बनेको छ ।

यी पर्यटकीय क्षेत्र हेर्न विश्वका धेरै ठाउँबाट पर्यटक आउने गरेका छन् । तर नेपालीले हेर्दा पनि दुख्ने भएका ती पर्यटकीय क्षेत्रमा भने विदेशीले हेर्दा के भन्छन् होला ? कसैलाई वास्ता छैन । भूकम्पपछिको पुनर्निर्माण जति सुस्त छ, त्यो भन्दा बढी ती पर्यटकीय क्षेत्रमा बेवास्ता र लापरबाही छ ।

युनेस्कोले थाल्यो बहस

काठमाडौँ उपत्यकाभित्र विश्व सम्पदा सूचिमा रहेका सम्पदाको संरक्षण कसरी गर्ने भन्ने विषयमा युनेस्कोले बहसको थालनी गरेको छ । विगतका ५० वर्षको अभ्यास हेरेर अब आउँदो ५० वर्षमा कम्तीमा ५० वटा विशेष छलफल गर्ने गरि युनेस्कोले बहसको थालनी गरेको हो ।

बिहीबार आइएसएसआरको कन्फ्रेन्स हलमा युनेस्कोले ५० वर्षको योजनाका विषयमा सरकार र सरोकारवाला निकायसँग छलफल पनि गरेको छ । काठमाडौँ उपत्यकाका पर्यटकीय क्षेत्रको संरक्षण, पर्यावरण अवस्था र विश्व सम्पदा सूचिमा परेका पर्यटकीय सम्पदा जोगाउने विषयमा युनेस्कोको अधिकारीले पटक पटक सरकारसमक्ष ध्यानाकर्षण गराउँदै आएका छन् ।

यसअघि पनि पशुपतिनाथ, स्वयम्भु, भक्तपुर लगायतका विश्व सम्पदा सूचिमा परेका पर्यटकीय क्षेत्रमा पर्याप्त व्यवस्थापन र संरक्षण नभएको भन्दै युनेस्कोले हटाउने चेतावनी दिएको थियो । त्यो चेतावनीपछि सरकारले ती क्षेत्रको संरक्षण गर्ने प्रतिबद्धता जनायो । तर त्यो व्यवहारमा देखिएको छैन ।

अहिले पनि काठमाडौँ उपत्यकाका मात्रै पर्यटकीय क्षेत्र हेर्दा युनेस्कोका अधिकारी सन्तुष्ट छैनन् । जसरी विश्व सम्पदा सूचिमा परेका पर्यटकीय क्षेत्रको संरक्षण र प्रवद्र्धन हुनुपर्ने हो, त्यसरी नेपाल सरकारले नगर्दा र बाहिरी दाताबाट सहयोग लिएर पनि त्यसलाई पारदर्शी नबनाउँदा अवस्थामा सुधार आएको छैन ।

यसका लागि युनेस्कोका अधिकारीले पटक पटक सरकार सम्बद्ध निकायसँग छलफल गरिरहेका छन् । तर उपलब्धी पनि अहिले पनि शून्य देखिन्छ ।

सम्बद्ध निकायका अधिकारी के भन्छन् ?

काठमाडौँका सम्पदाको विशेष निगरानी र अवस्थाको निरीक्षण गर्ने पुरातत्व विभाग हो । भूकम्पपछि विभागका धेरैजसो काममा आलोचना मात्रै छ । विभागका कर्मचारी जिम्मेवार भएर काम गर्न सकिरहेका छैनन् । विभागका एक कर्मचारी देवेन्द्र भट्टराईले काठमाडौँ उपत्यकाको अवस्था पहिले भन्दा चुनौतिपूर्ण भएको बताए ।

काठमाडौँ सम्पदाको संरक्षण, त्यसबारेमा आवश्यक सचेतना तथा पुरातत्व सामग्रीको संरक्षणका लागि आवश्यक काम गर्नका लागि समन्वय नभएको पनि उनले बताए ।

यस्तै ललितपुर महानगरपालिकाका वरिष्ठ इन्जिनियर रुद्र प्रसाद अधिकारीले ललितपुरको पाटनमा रहेको पाटन दरबार स्क्वायरमा शौचालय अभावदेखि ढल व्यवस्थापनको समस्या रहेको बताए । अहिलेकै अवस्थामा पाटन दरबार स्क्वायर व्यवस्थित नगर्दा भोलिका दिनमा झन् समस्या हुने भन्दै यसका लागि व्यवस्थित गर्नुपर्ने उनले बताए ।

पाटन दरबार स्क्वायर खुल्ला म्युजियमजस्तो भएको भन्दै उनले एसियाली विकास बैंक लगायत दाताको सहयोगमा व्यवस्थापन गर्ने काम भइरहेको बताए ।

यस्तै हनुमान ढोका दरबार स्क्वायरकी अधिकृत माया अर्यालले म्युजियम व्यवस्थापन नहुँदा म्युजियम अवलोकनका लागि दिनमा सयौँ जना आउनेले सास्ती पाइरहेको बताइन् । म्युजियम वरपरको वातावरण व्यवस्थित नहुँदा पर्यटक आवागमनमा समस्या भएको उनको भनाई छ ।

साथै उनले सम्पदा र सम्पदाभित्रको महत्वपूर्ण क्षेत्रको व्यवस्थापनका बारेमा स्थानीय तह, पर्यटकीय निकाय र संघीय सरकारबीच समन्वय नभएको बताइन् । समन्वय नहुँदा अहिले धेरै सम्पदा क्षेत्रको हालत भद्रगोल भएको पनि उनले बताइन् ।

यस्तै बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक नयन कुमारले सम्पदाभित्र आइपर्ने चुनौति व्यवस्थापन गर्न असहज हुने बताए । कहिलेकाँही माग्ने आएर सताउने, कहिलेकाँही बाँदरले सताउने, कहिलेकाँही स्थानीय युवा युवतीको अश्लील हर्कतदेखि केटाकेटीले चेतना नपुर्याउँदा विश्व सम्पदा सूचिमा परेका सम्पदाको गरिमा जोगाउनै हम्मे हम्मे पर्ने गरेको उनले बताए ।

सम्पदाको महत्व र पर्यटकीय क्षेत्रबारे पर्याप्त रुपमा जानकारी फैलाउन आवश्यक रहेको पनि उनले बताए । यस्तै स्वयम्भु संरक्षण व्यवस्थापन समितिका इन्जिनियर राजेश सुवालले विश्व सम्पदा सुचिमा रहेको पर्यटकीय क्षेत्रको संरक्षणका लागि सबैको सहकार्य आवश्यक रहेको बताए ।

पर्यटन मन्त्रालय के भन्छ ?

नेपालको पर्यटन क्षेत्रको संरक्षण र प्रवद्र्धन गर्ने मन्त्रालय नै गैरजिम्मेवार देखिएको छ । पर्यटन मन्त्रालय, पर्यटन विभाग र पर्यटन बोर्ड गरि तीन वटा निकाय भएपनि उनीहरु बीचमै विश्व सम्पदा सूचिमा सुचिकृत सम्पदाको संरक्षणमा पर्याप्त ध्यान छैन ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह–सचिव डा।सुरेश श्रेष्ठ पर्यटन क्षेत्रको गहना भनेकै विश्व सम्पदा सूचिमा रहेका पर्यटकीय क्षेत्रको संरक्षण भएकाले सबै जनाले एक अर्कासँग सहकार्य गर्नुपर्ने बताउँछन् ।

एक अर्कासँग समन्वय गर्नुपर्ने भएपनि त्यो काम सरकारले गर्न नसकेको विषय उनी स्वीकार गर्छन् । जसकारण पर्यटकीय क्षेत्रको संरक्षण हुन नसकेको उनको भनाई छ । युनेस्को जस्ता संस्थाका कारण पयर्पटकीय क्षेत्रका सम्बद्ध निकायहरुबीच भेटघाट र छलफल हुनुपर्ने अवस्था आउनु मात्रै पनि चिन्ताजनक रहेको उनको भनाई छ ।

सरकार आफैँले सबैको समन्वयन गर्नुपर्नेमा उनले जोड दिए । सरकारी, गैरसरकारी तथा अन्य सरोकारवाला निकाय सक्रिय भएर लागेमा पर्यटकीय क्षेत्रको विकास सम्भव हुने उनको भनाई छ ।

सह–सचिव श्रेष्ठले सबैको समन्वय आवश्यक रहेको भनेपनि सम्पदाको संरक्षणमा तीनै तहका सरकार भने गैरजिम्मेवार देखिएका छन् । त्यसमाथि जलवायु परिवर्तनले गर्दा विश्व सम्पदा सूचिमा रहेको पर्यटकीय क्षेत्रमा झन् संकट बढ्ने चिन्ता थपिएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array