कुश: कतै हाहाकार, कतै व्यापार

होस्ट खबर ११ भाद्र २०७९, शनिबार
2 Min Read
Aa

काठमाडौं : आज शनिबार कुसेऔंसी मनाइरहँदा कतै कुश हाहाकार र कतै धमाधम कुशकै व्यापार भइरहेको छ ।

देव तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुशको व्यापार बढ्दै गएको छ । कतै विभिन्न कारण ब्राह्मणले कुश उत्पादन गर्न नसक्दा किन्नुपर्ने बाध्यता छ । गाउँघरमा उत्पादन भएका कुश पछिल्लो समय बजारसम्म ल्याएर बेच्ने चलन छ ।

विशेषगरी काठमाडौं कालीमाटी तरकारी बजारमा कुशे औंसीको अघिल्लो दिनदेखि नै कुश बेच्नेको ठेलमठेल देखिन्थ्यो । ठ्याक्कै तरकारी बजारभित्र नभएर गेटबाहिरको फुटपाथमा कुशका कल्ली, मुठा र भारी नै बढी राखिएका भेटिए ।

नुवाकोट र धादिङका विभिन्न स्थानबाट बिहीबार रातिबाटै भारीका भारी कुश लिएर बेच्न लागेका थिए । नुवाकोट बेलकोटगढी नगरपालिकाका बेलकोट, रातमाटे, धादिङ गल्छी, महादेवस्थानलगायत स्थानबाट आएका कृषकदेखि बिचौलियासम्मको कुश बेच्न शुक्रबार बिहानैदेखि चहलपहल थियो ।

बेलकोटका ५७ वर्षीय चन्द्र श्रेष्ठ गाउँकै छिमेकी रामशरण श्रेष्ठसँग कुश बेच्न बिहीबार राति नै कालिमाटी पुगेका थिए । एक भारी कुश बेचेर ६ हजार कमाएका चन्द्र शुक्रबार बिहान ७ बजे पुग्दा आफ्नो भारी बेचिसकेर साथीको कुश बिक्री गर्न सघाइरहेका थिए ।

ललितपुर गोदावरीका गोविन्द चालिसेले एकाबिहानै कालिमाटी पुगेर कुश लिए । आफूले धेरै कुश लगेर अरूलाई पनि बाँड्ने गरेको उनले सुनाए । कुसेऔंसीका दिन पवित्र कुश काट्ने र त्यही काटेको कुश घरघरमा गएर ब्राह्मणले वितरण गर्ने गर्छन् ।

कुशको अभावमा किनेकै कुशलाई पछिल्लो समय वितरण गर्न थालिएको छ । कालिमाटीमा कुश थुप्रिए पनि समग्रतामा अभाव भएको छ । बसोबास र मानवीय विभिन्न क्रियाकलापका कारण कुश अभाव भएको प्रयोगकर्ता बताउँछन् ।

संस्कार र संस्कृति बेवास्ताले पनि संरक्षण कम भएकोमा ब्राह्मण चिन्तित छन् । आज शनिबार घर–घरमा भित्र्याएर कुसेऔंसी मनाइँदै छ ।

हरेक वर्ष भाद्र कृष्णऔंसीका दिन मनाइने यसदिन ब्राह्मणद्वारा विधिपूर्वक कुश काट्ने गरिन्छ । यसदिन ब्राह्मणद्वारा काटिएको कुश घरमै राख्ने र आफ्ना जजमानकहाँ लगिदिने चलन छ । त्यही कुश वर्षभर गरिने देव तथा पितृ कार्यमा प्रयोग गरिन्छ । राजधानी दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array