कक्षा १२ को परीक्षाफल १० दिनभित्र

होस्ट खबर ६ भाद्र २०७९, सोमबार
2 Min Read
Aa

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल १० दिनभित्र अर्थात् भदौको दोस्रो साता प्रकाशन गर्ने भएको छ ।

विद्यालय तहको अन्तिम परीक्षाको रूपमा हेरिएको सो परीक्षाको परीक्षाफल सकभर दोस्रो सातामा नभए १५ गतेभित्र प्रकाशित गर्ने बोर्डका अध्यक्ष डा महाश्रम शर्माले बताए । बोर्डले जेठको १६ गतेदेखि परीक्षा शुरू भएको कक्षा १२ को प्रश्न परीक्षण सकेर त्यसपछिको काम शुरू भइरहेको जनाएको छ ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले अब हाजिरी रुजु, मार्जिनल नम्बर राखेर रुजु गर्नेलगायतका काम बाँकी रहेको जानकारी दिँदै भने– ‘अबको १० दिनभित्र परीक्षाफल प्रकाशित गर्ने गरी तयारी थालेका छौं, सकेसम्म दोस्रो साताको अन्तिमतिर नभए १५ गतेभित्र परीक्षाफल प्रकाशित हुनेछ ।’

अधिकांश विद्यालयले मनोमानी रूपमा आन्तरिक परीक्षाको अंक दिएको र केहीले अर्कै विषयमा नम्बर दिएको कारण आन्तरिक मूल्याङ्कन नम्बर चढाउन समस्या भएको जिकिर गर्दै बोर्डका एक कर्मचारीले भने– ‘त्यसो नभएको भए पहिलो सातामै परीक्षाफल प्रकाशित गर्ने तयारी थियो ।’

गत वर्ष कक्षा १२ को परीक्षाफल कात्तिकमा प्रकाशित भएको थियो । त्यतिबेला होम सेन्टरबाट परीक्षा दिने व्यवस्था थियो ।बोर्डले लेटर ग्रेडिङअनुसारको परीक्षाफल प्रकाशित गरे पनि यो वर्ष ननग्रेडिङसमेत हुने भएको छ । ननग्रेडिङ ल्याउने विद्यार्थीले पुनः परीक्षा दिनुपर्नेछ ।परीक्षामा कुनै विषयमा ३५ प्रतिशतभन्दा कम अंक आएमा त्यसलाई ग्रेड दिइँदैन र ननग्रेडिङ दिइने व्यवस्था छ । गत वर्ष उत्तीर्ण विद्यार्थीका लागि १२ कक्षा ननग्रेडिङ वा ३५ प्रतिशतभन्दा कम अंक ल्याउने व्यवस्था थिएन ।

गत वर्षबाट कक्षा १२ मा नयाँ पाठ्यक्रम लागु भएको थियो । सोही आधारमा यो वर्षको परीक्षामा ननग्रेडेड राखिएको हो । ‘डी’ भन्दा मुनि ‘एनजी’ वा ‘ननग्रेडेड’ अंक ल्याउनेलाई लब्धाङपत्र दिइँदैन । परीक्षा नियन्त्रक शर्माले दुई विषयसम्म एनजी आएमा ग्रेड वृद्धिका लागि डेढ महिनाभित्र पूरक परीक्षा दिने व्यवस्था हुने जानकारी दिए।

मौका परीक्षा दिँदा कम्तीमा एउटामा एनजी कटाएमा अर्को वर्षको वार्षिक परीक्षामा बाँकी एउटा मात्र विषयमा जाँच दिन पाइन्छ । तर, त्यो बेला पनि फेरि एनजी आयो भने अर्को वर्ष पूरै विषयको विषयको परीक्षा दिनुपर्ने व्यवस्था लागु गरिएको छ । नेपाल समाचारपत्र दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array