कागजात बुझाउन नसकेपछि प्रदेशसभा चुनाव नलड्ने घोषणा

होस्ट खबर २ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं : रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेशसभा निर्वाचनका लागि आवश्यक कागजात नबुझाएका कारण प्रतिनिधिसभा निर्वाचनमा मात्रै भाग लिने भएको छ। आयोग स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू अन्तिम समयमा दल दर्ताका लागि निर्वाचन आयोग पुगेका थिए।

उनीहरूसँग अलगअलग सातवटा प्रदेशसभा निर्वाचनका लागि सातवटा डेस्कमा दर्ता गर्नुपर्ने कागजात थिएन। संघीय निर्वाचनका लागि आवश्यक कागजात मात्रै भएकाले त्यसैअनुसार प्रतिनिधिसभा निर्वाचनमा भाग लिन मात्रै दल दर्ता गरेर फर्किएको आयोगका एक कर्मचारीले बताए।

आयोगले सो दल प्रदेशसभा निर्वाचनअन्तर्गत दर्ता नभएको जनाएको छ। आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले प्रदेशसभा निर्वाचनमा भाग लिन सोही प्रदेशअन्तर्गत पनि दर्ता हुनुपर्ने बताए।

‘प्रदेशसभा निर्वाचनमा भाग लिन सात प्रदेशका लागि सातवटा फाइल र प्रतिनिधिसभा निर्वाचनका लागि एक फाइल गरी जम्मा आठवटा फाइल साउन ३१ गतेसम्म आयोगमा बुझाएका राजनीतिक दलहरूको विवरण रुजु गरिरहेका छौं,’ आयोगका सहप्रवक्ता अर्यालले भने, ‘कुनै राजनीतिक दलले एउटा मात्र प्रदेशको निर्वाचनमा भाग लिन्छु वा प्रदेशसभा निर्वाचनमा भाग लिन्न भन्न सक्छ। दर्ता नभएपछि निर्वाचनमा भाग लिन पाइँदैन।’

लामिछानेले भने यो वास्तविकतालाई पन्छाउँदै प्रदेशसभा संरचनाको निर्वाचनमा सहभागी हुनु भनेको राज्यकोष दोहनमा सहभागी हुनुबाहेक केही नभएको तर्क गरेका छन्। नागरिक दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्