परिवेशअनुकूल बोल्दा चिप्लिँदै दाहाल

होस्ट खबर २३ श्रावण २०७९, सोमबार
2 Min Read
Aa

काठमाडौं : जापान भ्रमणमा रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले शनिबार नेपाल फेस्टिभल २०२२ लाई सम्बोधन गर्दै जापानी पूर्वप्रधानमन्त्री सिन्जो आवेसँग पटकपटक आफूले भेट गरेको दाबी गरे। आवेको केही समयअघि जापानमा आयोजित चुनावी सभामा गोली हानेर हत्या गरिएको थियो।

पार्टी विदेश विभागमातहतको जनप्रगतिशील मञ्च जापानको निमन्त्रणामा त्यहाँ भ्रमणमा गएका दाहालले फेस्टिभललाई सम्बोधन गर्ने क्रममा जापानका पूर्वप्रधानमन्त्री आवेलाई नेपाल भ्रमणका बेला दुईतीनपटक भेटेको र उनीसँगको सम्बन्ध राम्रो रहेको बताएका थिए।

सोही कार्यक्रममा दाहालले नेपाल–जापान सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन आफ्नो भ्रमणले महत्वपूर्ण भूमिका निर्वाह गर्ने दाबीसमेत गरे।

दाहालले आवेलाई भेटेको पहिलो दाबी पूर्णतः गलत छ, जसलाई उनी आफैंले पनि सच्याएका छन्। आवेले नेपाल भ्रमण गरेका थिएनन्। दाहालले पनि उनीसँग भेट गरेका थिएनन्। दुईपटक प्रधानमन्त्री भइसकेका र लामो समयदेखि पार्टी अध्यक्ष रहेका दाहालले आफ्नो बोलीमा विचार नपुर्‍याउँदा पटकपटक चिप्लिएका थुप्रै उदाहरण छन्।

त्यस्तै दाहालको जापान भ्रमण औपचारिक नभई आफ्नै पार्टीको जनवर्गीय संगठनको निमन्त्रणामा भएको हो। उनको भ्रमणका क्रममा जापानका उच्च सरकारी अधिकारीसँग भेट्ने पूर्वनिर्धारित कार्यक्रम पनि तय भएको छैन। त्यसैले पार्टीनिकट संगठनको निमन्त्रणामा जापान गएर नेपाली समुदायसँग भेटघाट गर्दैमा नेपाल–जापान सम्बन्ध नयाँ उचाइमा पुग्छ भन्ने उनको दाबी पनि वास्तविकताभन्दा धेरै टाढा देखिन्छ।

तत्कालीन सरकार र कांग्रेसलाई वर्ग दुष्मन घोषणा गरेर सुरु भएको सशस्त्र द्वन्दका नाइके दाहालका लागि अहिले तिनै देउवा परिवर्तनका संवाहक बनेका छन्।

सर्वहारा वर्गको नायकत्व स्थापना गर्ने उद्देश्यले सुरु भएको सशस्त्र द्वन्दले मानवीय क्षति मात्र नभएर आर्थिक रूपमा पनि मुलुकले धेरै ठुलो मूल्य चुकाउनुपर्‍यो। उनै दाहाल झण्डै दुई दशकदेखि सत्ताको वरिपरि घुमिरहँदा उनलाई सशस्त्र युद्धमा साथ दिने वर्ग भने अभाव र कष्टसँग जुधिरहेको छ।

दाहाल स्वयंको भने वर्ग उत्थान भइसकेको छ। हिजो गरिखाने वर्गसँग दाहालले गरेको वाचा र सत्तामा पुगेपछिको उनको व्यवहारमा आकाश जमिनको फरक छ।

तर उनी गरिखाने वर्गको हक स्थापना गर्न प्रयत्नशील रहेको भने झुट बोल्न छोडेका छैनन्। सुखका बेला हुनेखाने वर्गको वरिपरि लुटपुटिने दाहालले संकट पर्दा भने भएखाने वर्गलाई झुटो आश्वासन दिएर सडकमा उतार्ने गरेका छन्। नागरिक दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्