कामकाजी आमाले बच्चाका लागि यसरी आफ्नो दूध स्टोरेज गर्न सक्छन्

होस्ट खबर ३ जेष्ठ २०७९, मंगलवार
4 Min Read
Aa

एउटा शिशुको लागि सम्पूर्ण आहार हो, आमाको दूध । भुक्तभोगीहरु भन्छन्, ‘६ महिनासम्म बच्चालाई आमाको दूध अनिवार्य हो ।’ अर्थात यस अवधिमा ठोस खानेकुरा दिनु उचित हुँदैन ।

त्यसैगरी शिशुको आवश्यक्ता अनुसार दिनमा आठदेखि १२ पटकसम्म स्तनपान गराउनुपर्ने हुन्छ । तर, समस्या कहाँ छ भने सबै आमाले ६ महिनासम्म घरमै बसेर दूध खुवाउने अनुकुलता छैन । किनभने अहिले अधिकांश आमा कामकाजी छन् । कोही रोजगारी गर्छन्, कोही आफ्नो पेशा व्यवसाय गर्छन् । सबैको आ-आफ्नै कामधन्दा छ ।

एकातिर शिशुलाई आफ्नै दूध खुवाउनुपर्ने अवस्था छ, अर्कोतिर आफ्नो कामधन्दामा पनि व्यस्त हुनुपर्नेछ । अब के गर्ने ?

यसका केही विकल्प छन् । बजारमा उपलब्ध प्याकेटबन्द दूध वा अन्य खानेकुरा खुवाउन सकिन्छ, जो शिशुकै लागि तयार गरिएका छन् । यद्यपि यी सम्पूर्ण भन्दा सर्वोत्तम हो आमाको दूध । र, आमाले आफ्नो दूधलाई भण्डारण गरेर बच्चाको आवश्यक्ता अनुसार खुवाउन सक्छन् । आमाको अनुपस्थितीमा पनि शिशुलाई आमाको दूध खुवाउन सकिने यो विधी अहिले धेरैका लागि उपयोगी हुनसक्छ ।

आमाको दूध कसरी भण्डारण गर्ने ? यसरी भण्डारण गर्दा दूधमा पोषक तत्व कायम रहन्छ ? कति अवधिसम्मको दूध खुवाउन सकिन्छ ?

आमाको दूधलाई स्टोरेज गर्ने विधि

बच्चालाई आमाकै दूध स्टोरेज गरेर खुवाउँदा केही कुराहरूमा विशेष ध्यान दिनुपर्ने हुन्छ । दूध स्टोरेज गर्दा आमाले साबुन पानीले राम्ररी हात धुने र बिर्को भएको सफा भाँडोलाई २० मिनेट पानीमा उमाल्ने जसले गर्दा भाडामा भएको कीटाणु नष्ट हुन्छ । त्यसपछि त्यो भाडा सुख्खा भएपछि आमाको दूध त्यसमा दोएर छोपेर राख्न सकिन्छ ।

आमा २ देखि ३ घण्टाको लागि मात्र बाहिर गएको हो भने कोठाको तापमानमा नै राख्न सकिन्छ ।  आमा लामो समयको लागि गएको हो भने दूधलाई फ्रिजमा स्टोरेज गर्नु पर्छ ।

२४ घण्टा सम्म स्टोरेज गर्न सकिन्छ

आमाको दूधलाई २४ घण्टा सम्म स्टोरेज गर्न सकिन्छ । दुई देखि तिन घण्टाको लागि मात्र स्टोरेज गर्ने हो भने कोठाको तापमानमा नै स्टोर गर्न सकिन्छ । तर, चार घण्टा बढी स्टोर गर्ने हो भने फ्रिजमा स्टोर गर्नु पर्छ ।

फ्रिजमा स्टोरेज गर्दा माथि डिप फ्रिजमा नभई तलको भागमा राख्नु पर्छ । सबै दूधलाई तताउँदै राख्दै गर्न हुँदैन । यसो गर्दा दूध बिग्रन सक्छ । जति खुवाउने हो त्यत्तिलाई मात्र तताएर खुवाउने र बाँकी फ्रिजमा नै राख्नुपर्छ । २४ घण्टा सम्म यसरी स्टोरेज गर्दा दूधमा भएको पोषण तत्त्व नष्ट हुँदैन । स्टोर गरेर राखेको दूधमा पनि सम्पूर्ण पोषक तत्त्वहरू कायम रहन्छ ।

स्टोरेज गरेको दूध बच्चालाई कसरी खुवाउने

यसरी स्टोरेज गरेर राखेको दूध बच्चालाई खुवाउँदा चिसो भइसकेको हुनाले त्यसलाई तताएर मात्र खुवाउनु पर्छ । एउटा भाँडोमा तातो पानी राखेर त्यसमा बच्चालाई खुवाउन तयार गरेको दूधको भाँडोलाई डुबाएर राख्ने यसरी डुबाएर राख्दा तलको तातो पानीले दूध तात्छ ।

बच्चालाई स्टोरेज गरेको दूध खुवाउँदा बोतलको प्रयोग गर्नु हुँदैन । बोतलको प्रयोग गरियो भने बोतलको माध्यमबाट इन्फेक्सन हुने डर हुन्छ । र अर्को महत्त्वपूर्ण कुरा बोतलको निपल चुस्न थालेपछि बच्चाले आमाको दूध तान्न मान्दैन ।

किनकि बोतलको निपलबाट सजिलै दूध आउँछ र त्यसमै बानी पर्छ  । त्यसैले बच्चालाई  बिट तिखो नभएको कचौरा र कपबाट दूध खुवाउनु उपयुक्त हुन्छ । कप वा कचौरालाई बच्चाको तल्लो ओठमा माथिल्लो भाग टसाईदिने त्यसो गर्दा बच्चाले आफै दूध चुसेर खान थाल्छ । र, बच्चाको आवश्यकता अनुसार दुई देखि तीन घण्टामा बच्चाको आवश्यकता अनुसार दूध तताएर खान दिनुपर्छ ।

दूध खुवाउँदा चम्चाको प्रयोग नगर्ने

बच्चालाई चम्चाले दूध खुवाउँदा एउटा औँला चम्चाको बिचमा राख्ने बानी हुन्छ । त्यो औँला पनि बच्चाको मुखमा परेर त्यसको कारणले बच्चालाई विभिन्न प्रकारका संक्रमण हुन्छ । चम्चाले खुवाउँदा बच्चाको मुखमा दूध खुवाइदिनुपर्ने हुन्छ । तर कचौराबाट खुवाउँदा बच्चा आफ्नै प्रयासले तान्छ । त्यसैले बच्चालाई चम्चाले भन्दा पनि बिट तिखो नभएको कप वा कचौराबाट दूध खुवाउनु पर्छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्