हप्ताकाे २ दिन बिदा दिने निर्णयकाे हाेटल सङ्घ पाेखराद्वारा स्वागत

होस्ट खबर १६ बैशाख २०७९, शुक्रबार
1 Min Read
Aa

कास्की – होटल सङ्घ पोखरा नेपालले हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णयलाई स्वागत गरेको छ । सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले आज शुक्रवा एक विज्ञप्ति निकालेर आउँदाे जेठ १ गतेदेखि लागू हुने गरी मन्त्रिपरिषद्ले गरेको शनिवार र आइतवार दुई दिन बिदा दिने व्यवस्थाले पर्यटन क्षेत्रमा सकारात्मक असर पर्ने उल्लेख गर्नुभएको छ ।

लामो समयदेखि विविध समस्या झेल्दै आएको पर्यटन क्षेत्रमा दुई दिने बिदाको व्यवस्थाले केही रूपमा भए पनि व्यवसायमा राहत पुग्ने विश्वास लिइएको विज्ञप्तिमा उल्लेख छ । सङ्घले दुई दिन बिदाको व्यवस्थालाई लामो समयदेखि माग गर्दै आएको पनि अध्यक्ष सुवेदीले स्मरण गर्नुभयो ।

कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्र नै हुन पुगेको र दुई दिने बिदाको व्यवस्थाले कोरोनाबाट थलिएको पर्यटन क्षेत्रलाई केही रूपमा भए पनि चलायमान बनाउन र आर्थिक गतिविधि बढाउन थप मद्दत पुग्ने विश्वास सङ्घले लिएको विज्ञप्तिमा भनिएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्