म्याग्दीको सबै पालिकामा उम्मेदवारी दर्ता

होस्ट खबर १३ बैशाख २०७९, मंगलवार
3 Min Read
Aa

म्याग्दी – आउँदो ३० गते हुन गइरहेको पालिका चुनावका लागि म्याग्दीको छ वटै पालिकामा उम्मेदवारी दर्ता भएको छ । जिल्लामा क्रियाशील विभिन्न राजनीतिक दल र स्वतन्त्रका उम्मेदवारहरुले हिजो सोमवार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आ–आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

एक मात्र नगरपालिका रहेको म्याग्दी जिल्लाको बेनी नगरपालिकाको प्रमुखमा विभिन्न दलहरु र स्वतन्त्र गरी ८ जना र उपप्रमुखमा ७ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बेनीको प्रमुखमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबाट सुरत केसी र उपप्रमुखमा पशुपति शाही, नेपाली कांग्रेसबाट चिरञ्जीवी शर्मा र अमृतदेवी बानियाँ, माओवादी केन्द्रबाट धनलाल जैसी र ज्योती लामिछानेले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यसैगरी नेकपा समाजवादीबाट कृष्णकुमार विश्वकर्मा र मुनाकुमारी बानियाँ, राप्रपाबाट मिनाकुमारी शर्मा सापकोटा र एकेन्द्रबहादुर रावल, राष्ट्रिय जनमोर्चाबाट टीकाप्रसाद रानामगर र भोमकुमारी कार्की, मङ्गोल नेशनल अर्गनाइजेशनबाट नरबहादुर थापामगर र विवा आले, स्वतन्त्र उम्मेदवार धनबहादुर श्रीषले उम्मेदवारी दर्ता गराउनुभएको छ । बेनी नगरपालिकाको कुल ५२ पदका लागि १ सय ७९ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले जानकारी दिनुभयो ।

त्यस्तै पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिकामा कुल ३७ पदका लागि ८९ जनाको उम्मेदवारी परेको छ । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा क्रमशः एमालेबाट थमसरा पुन र प्रगति कार्की, कांग्रेस–माओवादीबाट प्रेमप्रसाद पुन र रेशम पुनगर, एकीकृत समाजवादीबाट बमबहादुर पाइजा, मङ्गोल नेशनल अर्गनाइजेशनबाट शंकरबहादुर पुन र खममाया रोका तथा राप्रपाबाट होमबहादुर थापाले उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन अधिकृत भोलाराज रेग्मीले बताउनुभयो ।

कुल ३७ पदका लागि मालिकामा १ सय ४७ जनाको उम्मेदवारी परेकोमा अध्यक्ष र उपाध्यक्षमा क्रमशः एमालेबाट वेगप्रसाद गर्बुजा र लक्ष्मी पुन, कांग्रेसबाट श्रीप्रसाद रोका र पवित्रा पुन, माओवादी केन्द्रबाट रेशम जुग्जाली र गौरी सेन्च्युरी, मङ्गोलबाट खरबहादुर रोका र धनदेवी घर्ती रहनुभएको छ । मङ्गलामा २७ पदका लागि १ सय ५ जनाको उम्मेदवारी परेकोमा अध्यक्ष र उपाध्यक्षमा क्रमशः एमालेका सतप्रसाद रोका र प्रेमकुमारी क्षेत्री, कांग्रेसबाट वीरेन्द्र बुढाथोकी र शर्मिला थापा, माओवादीबाट टेकबहादुर विक र सुकमाया रोका, राप्रपाबाट योगेन्द्रमान शेरचन र विन्दु मल्ल, समाजवादीबाट रुद्रबहादुर किसान र कल्पना सापकोटा तथा स्वतन्त्रतर्फ टङ्कप्रसाद बुढाथोकी रहनुभएको छ ।

रघुगङ्गामा ४२ पदका लागि कुल १ सय ४० जनाको उम्मेदवारी दर्ता भएको छ । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा क्रमशः एमालेका प्रेमबहादुर कार्की र यामकुमारी गर्बुजा, कांग्रेसका भवबहादुर भण्डारी र प्रेमकुमारी पुन, माओवादीका मीना विक र रिमबहादुर कटुवाल, मङ्गोलका तुलप्रसाद थापा, स्वतन्त्रबाट सागर भण्डारी र अनुरोध रिजालको उम्मेदवारी दर्ता भएको सहायक निर्वाचन अधिकृत अमृत सुवेदीले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकामा पनि ४२ पदका लागि कुल ९८ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । एमालेबाट भरतकुमार पुन र दिवाकुमारी तिलिजा पुन, कांग्रेसका बलबहादुर तिलिजा र ललिता तिलिजा, राप्रपाबाट तीर्थबहादुर खड्का, मङ्गोलबाट रामबहादुर गर्बुजा र एलिना पुर्जा शेरपुजाले अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन अधिकृत जानुका सुवेदीले जानकारी दिनुभयो ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array