अत्यधिक मदिरा सेवनका कारण राउटे मुखिया सूर्यनारायण शाहीको निधन

होस्ट खबर १७ बैशाख २०८२, बुधबार
2 Min Read
Aa

सुर्खेत : जंगलमा फिरन्ते जीवन बिताउने लोपोन्मुख राउटे समुदायका मुखिया सूर्यनारायण शाहीको निधन भएको छ । सोमबार राति साढे ९ बजेतिर उनको निधन भएको हो ।

अत्यधिक मदिरा सेवनका कारण उनको निधन भएको समुदायसँग काम गर्दै आएको सोसेक नेपालका जोडी शिक्षक लालबहादुर खत्रीले जानकारी दिए ।

सूर्यनारायण २०७२ जेठमा मुखिया बनेका थिए । राउटे समुदाय अहिले दुई ठाउँमा छुट्टिएर बस्दै आएको छ । उनी एउटा समूहको नेतृत्व गर्दै बराहताल गाउयँपालिका–८ सुर्खेतको सोतखोलामा बस्दै आएका थिए । अर्को समूह भने दुई मुखियासहित वीरेन्द्रनगर–१३ को करेखोलामा बस्दै आएको छ ।

‘नयाँ वर्षमा यो समुदायमा ठूलो चाड मनाउने प्रचलन हुन्छ । त्यहीँ बेलादेखि उहाँ विरामी हुनुहुन्थ्यो,’ खत्रीले भने, ‘पछिल्लो पाँच दिनयता विरामीले च्यापेपछि सुतिरहने तर नउठ्ने गरेपछि अस्पताल लैजान सम्झाउने गरेका थियौं । तर उहाँको गएराती नै मृत्यु भयो ।’

राउटे समुदाय विरामी भएपछि उपचारका लागि अस्पताल जान मान्दैनन् । ‘मुखियाले अस्पताल गएका सबैको मृत्यु भएको छ म पनि जाँदैन भन्नुहुन्थ्यो,’ खत्री भन्छन्, ‘सोमबारसम्म अवस्था हेरौं नभएर मंगलबार उपचारका लागि वीरेन्द्रनगर जाउला भन्नुभएको थियो । गएराती ९ बजेतिर उहाँको मृत्यु भइसक्यो ।’

तीन जना मुखिया रहेको राउटे समुदायका मुख्य मुखिया सूर्यनारायण हुन् । २०७२ जेठमा मुखिया चुनिएका उनी रास्कोटी गोत्रका हुन् । एक महिनाअघि मात्रै उनीहरु वीरेन्द्रनगर–१४ छेडामा भेट्नेगरी गिरीघाटबाट छुट्टिएको थिए ।

२१ घरधुरी वीरेन्द्रनगर–१३ करेखोला किनारामा बसिरहेका छन् । मुखिया शाहीको नेतृत्वमा बाँकी २१ घरधुरी बराहतालको सोतकोला किनाराहुँदै श्रीचौर नजिकै पुगेको हो ।

राउटे समुदायको चलनअनुसार तीन वर्षको फरकमा छुट्टाछुट्टै बाँडिने गरेका छन् । राउटे समुदाय दुई राउटे समुदायमा रास्कोटी, स्ववंशी र कल्याय गरी तीन गोत्र छन् । मुखियाको मृत्यु भएपछि यो समुदायको संख्या घटेर १३५ मा झरेको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्