हुम्ला : नेपालका ७७ जिल्ला मध्ये हालसम्म राष्ट्रिय सडक सञ्जालसँग जोडिन नसकेको एक मात्रै हिमाली जिल्ला हुम्ला पनि राष्ट्रिय सडक सञ्जालसँग जोडिने भएको छ ।

यही असार ११ गते कर्णाली कोरिडोर र राष्ट्रिय सडक सञ्जालसँग हुम्लाको सदरमुकाम सिमकोटलाई जोड्नका लागि यसको उद्घाटन गर्न सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली हुम्ला पुग्नु हुने भएको छ ।
सिमकोट र खार्पुलाई जोड्ने खार्पुनाथ गाउँपालिका –५ को खार्पुदोभानमा नेपाली सेनाले कामलाई तीब्रता दिएर बेलिवृज पुल निर्माणको कार्य अन्तिम चरणमा पुगेपछि असार ११ गते उद्घाटन हुने भएको नेपाली सेना निर्माण दलका मेजर पुर बहादुर घलेले बताउनुभयो ।
सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने दशकौँदेखिको सपना अब केही दिनमै साकार हुन लागेको मेजर घलेको भनाई छ । यससँगै सिमकोट–खार्पु मार्ग हुँदै सदरमुकाम सिधै राष्ट्रिय सडक सञ्जालमा जोडिने पक्का भएको छ ।
खार्पुदोभानमा निर्माण हुँदै गरेको बेलिवृज पुलको काम नेपाली सेनाले सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्नका जेठ १ गतेबाट मात्रै निर्माण कार्यलाई अगाडी बढाएको थियो । उक्त कामको जिम्मा नेपाली सेनाले पाएपछि नेपाली सेना निर्माण दलको टिम २०८१ सालको चैत १२ गते जिल्लाको खार्पुमा पुगेको थियो । त्यस लग्गतै सबै कामहरु हेरेर २०८१ सालको जेठ महिनाको एक गतेबाट बेलिवृज पुल निर्माणको कामलाई अगाडी बढाएर एक महिनामै हुम्लीको सपना पुरा गर्न लागेको हो ।
खार्पुदोभानको काम नेपाली सेना १४ बाइनी अन्तर्गतका निर्माण दलले काम गरिरहेको छ । अहिले बेलिवृज पुलको अन्तिम चरणमा पुगेको छ । सडक सञ्जालसँग नजोडिएको नेपालको अन्तिम सदरमुकाम सिमकोट अब राष्ट्रिय सञ्जालमा जोडिन लाग्दा यहाँका स्थानीयवासीमा उत्साहको लहर फैलिएको छ ।
कठिन मौसम, दुर्गम भू–भाग र सीमित स्रोतसाधनका बीचमा सम्पन्न भएको यो कार्य नेपाली सेनाको दक्षता र समर्पणको उत्कृष्ट उदाहरण बनेको छ । दुर्गम हुम्लाका स्थानीयवासी, व्यापार, स्वास्थ्य, शिक्षा र प्रशासनिक सेवामा पहुँचका लागि अब लामो दूरी पैदलयात्रा गर्नुपर्ने बाध्यता अन्त्य हुने छ ।
सदरमुकाम सिमकोट सडकसँग जोडिएसँगै यहाँका नागरीकले राहत पाउने भएका छन् । जिल्लामा उत्पादित हरेक सामग्री जिल्ला बाहिर निकासी हुने भएको छ । भने जिल्लाबाहिरबाट हरेक सामन सहजै आयात हुने भएको छ । भौगोलिक विकटता, कठिन यहाँको भूलोलका कारण सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिन सकेको थिएन् ।












प्रतिक्रिया दिनुहोस्