पूर्वराजा ज्ञानेन्द्रको राहदानी रद्द हुँदै, अराजक गतिविधि नरोके पक्राउ गरिने

होस्ट खबर १५ चैत्र २०८१, शनिबार
2 Min Read
Aa

काठमाडौँ : सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको राहदानी (पासपोर्ट) रद्द गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

शुक्रबार काठमाडौंमा अराजकता मच्चाउने मुख्य व्यक्ति नै पूर्वराजा ज्ञानेन्द्र शाह रहेको भन्दै उनको राहदानी रद्द गर्ने प्रक्रिया अगाडि बढाएको उच्च सरकारी स्रोतले जानकारी दियो ।

‘शुक्रबार काठमाडौंमा हिंसात्मक र आपराधिक घटना घटाउने मुख्य योजनाकार पूर्वराजा हुन् भन्ने निष्कर्ष निस्किएको छ,’ सरकारी उच्च स्रोतले भन्यो, ‘यसैले हिंसा मच्चाउने मुख्य योजनाकार रहेको र टिम परिचालन गरेको आधारमा उनको पासपोर्ट रद्द गर्ने प्रक्रिया अगाडि बढाउने सरकारको तयारी छ ।’

सुरक्षा संयन्त्रले हिंसा मच्चाउन शाहले नै भूमिका खेलेको निष्कर्ष निकालेको छ । शाहलाई जवाफदेही बनाउनुपर्ने आवश्यकता देखिएको सरकारको बुझाइ छ ।

‘उनी नै मुख्य नाइके रहेकोमा कुनै दुईमत रहेन । सञ्चारमाध्यमदेखि पब्लिक तहसम्ममा ज्ञानेन्द्रलाई निगरानी गर्न, जवाफदेही बनाउन दबाब परेको छ,’ सरकारी उच्च स्रोतले भन्यो, ‘यस्तै दबाब बढ्दै गए ज्ञानेन्द्र शाह पक्राउ पर्न पनि सक्छन् ।’

पूर्वराजाको सुरक्षाकर्मीको संख्या कटौती, सशस्त्र प्रहरीको २५ जनामध्ये १० जना फिर्ता बोलाइयो 

सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा परिचालन भएको सुरक्षाकर्मीको संख्या कटौती गरेको छ ।

सरकारले पूर्व राष्ट्रप्रमुखको हैसियतमा दिएको सबै सुविधा कटौती गर्ने तयारी गरिरहेको बेलामा पूर्वराजा शाहको सुरक्षाकर्मीको संख्या घटाएको हो । डिएपीको कमाण्डमा रहेका सशस्त्र प्रहरीको २५ जनामध्ये १० जना फिर्ता बोलाएर १५ जना कायम गरिएको छ ।

नारायणहिठी राजदरबारबाट हटेपछि पूर्व राजपरिबारलाई सरकारले आवाससहितको सुरक्षाकर्मीको सुविधा उपलब्ध गराएको छ । सरकारले पूर्व राजपरिबारका सबै सदस्यहरुको सुरक्षाको लागि सशस्त्र प्रहरीको १५५ जना सुरक्षाकर्मी खटाएको थियो । यसमध्ये पूर्वराजा शाहको सुरक्षाको लागि २५ जनाको छुट्टै टोली परिचालन गरिएको थियो ।

स्रोतका अनुसार परिबारका सदस्यहरुको लागि खटाइएको सुरक्षा टोली पनि फिर्ता बोलाइएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्