कुलमानलाई हटाउन कांग्रेसले गर्भनर र माओवादीले टिआरसीमा सम्झौता गरेका हुन् ?

होस्ट खबर १२ चैत्र २०८१, बुधबार
3 Min Read
Aa

काठमाडौँ : सोमबार रोचक भयो। दिउँसो प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले छलफल गरे । साँझ मन्त्रिपरिषदले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्यो।

दिउँसोको छलफल संक्रमणकालीन न्यायसम्बन्धी भनिएको थियो। जसअनुसार सरकारले सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन गर्न गठित आयोगमा अध्यक्ष र सदस्य नियुक्त गर्न बाँकी छ।

तर, साँझ कुलमानलाई हटाउने निर्णय भएपछि एकथरीले प्रश्न गरे, प्रचण्ड सारै नै बाठा छन्, कुलमानसँग टिआरसी साटेछन्। प्रचण्डले कुलमान हटाउने निर्णयको विरोध गरेका छन्। उनको पार्टीले त देशभर आन्दोलन गरिरहेको छ। चितवनमा त प्राधिकरणका कार्यालय प्रमुखको कार्यकक्ष नै तोडफोड भयो।

माओवादीले बाहिर विरोध गरेपनि भित्र भने टिआरसीसँग सम्झौता गरेको आरोप छ। खासगरी आगामी दिनमा माओवादी कसरी अगाडि बढ्छ, त्यसले प्रस्ट गर्नेछ। सरकारले दुबै आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति गठन गरिसकेको छ। नियुक्तिमा कसरी भागवण्डा हुन्छ, त्यसले अहिलेको घटनाक्रमलाई पुष्टि गर्दै लैजानेछ।

अर्को पेचिलो प्रश्न कांग्रेसले कुलमानलाई हटाउने के सँग साट्यो भन्नेछ। ऊर्जा मन्त्री दीपक खड्का छन्, जो कांग्रेस नेता हुन्। विभागीय मन्त्रालयका हिसावले विद्युत प्राधिकरणमा कांग्रेसबाट आउनुपर्ने हो। तर, एमाले कोटाबाट हितेन्द्रदेव शाक्य नियुक्त भएका छन्।

यो घटनाक्रमले के देखाउछ भने कांग्रेसले नेपाल राष्ट्र बैंकको गर्भनर पदमा सम्झौता गरेको छ। नत्र चार महिना मात्र कार्यकाल बाँकी रहेका बेला घिसिङलाई हटाएर सरकारले किन जोखिम मोल्यो, खासगरी कांग्रेसको आलोचना भइरहेको छ। किनकी देउवा प्रधानमन्त्री भएका बेला घिसिङ नियुक्त भएका थिए।

कुलमानलाई हटाएको भोलिपल्ट विकसित घटनाक्रमले अब राष्ट्र बैंकमा कांग्रेसले बाजी मार्ने देखिन्छ। राष्ट्र बैंकको गर्भनर बन्ने दौडमा रहेका नबिल बैंकका सिइओ ज्ञानेन्द्र ढुंगानाले राजीनामा दिएका छन्। नबिल बैंकमा विनोद चौधरीको चौधरी ग्रुपको बहुमत सेयर छ। कांग्रेस सांसदसमेत रहेका चौधरी ढुंगानालाई गर्भनर बनाउन शक्ति केन्द्र धाइरहेका छन्। यो हिसावमा कांग्रेस सभापति देउवाले संकेत दिएकाले चौधरीले ढुंगानालाई राजीनामा गर्न लगाएको विश्लेषण छ।

गर्भनरका लागि राष्ट्र बैंकको डेपुटी गभर्नरद्वय डा। नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र, कार्यकारी निर्देशकद्व डा। प्रकाश कुमार श्रेष्ठ र डा। गुणाकर भट्ट पनि दौडमा छन्। त्यस्तै, राष्ट्रिय योजना आयोगका पूर्वसदस्य एवं लगानी बोर्ड नेपालका निवर्तमान प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट , पूर्वसचिव अर्जुन कार्की लगायत पात्र दौडमा छन्। मन्त्रिपरिषद् बैठकले सोमबार मात्रै अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गभर्नर सिफारिस समिति गठन गरेको थियो । सोही समितिले गभर्नरका लागि मन्त्रिपरिषद बैठकमा नामहरू सिफारिस गर्नेछ । सिफारिसमा परेमा नाममध्येबाट एक जनालाई मन्त्रिपरिषद्ले गभर्नरमा नियुक्ति गर्नेछ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्