यसपालि दसैँमा सुकिला नोट मात्रै, नयाँ नोट बन्द

होस्ट खबर १९ भाद्र २०८१, बुधबार
2 Min Read
Aa

काठमाडौं : हरेक वर्ष दसैँका लागि नयाँ नोट बाँड्दै आएको नेपाल राष्ट्र बैङ्कले यस पटक सुकिला नोटले काम चलाउने भएको छ । दसैँ तिहार लक्षित नयाँ नोट सटही सुविधा प्रदान गर्दै आएको राष्ट्र बैङ्कले खर्चको व्यवस्थापन गर्न नयाँ नोटलाई बन्द गरेको हो ।

खर्चको व्यवस्थापन गर्न राष्ट्र बैङ्कले केही वर्षअघिदेखि नयाँ नोटको सट्टा सुकिला नोट दिने अभ्यासलाई अघि बढाउने योजना बनाए पनि अगाडि बढेको थिएन ।

राष्ट्र बैङ्कका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेलले पुराना सुकिला नोट सटही गरिदिने तर नयाँ नोट नदिने जानकारी दिए। यस पटक दसैँमा नयाँ नोट वितरण नहुने भन्दै पोखरेलले आवश्यक हुनेलाई बजारबाट फिर्ता आएकामध्येबाट सुकिला नोट दसैँमा दिने बताए।

दसैँको मनोविज्ञान नै नयाँ नोटसँग जोडिएको हुँदा सर्वसाधारणलाई केही असजिलो लाग्ने भए पनि बिस्तारै सामान्य अवस्थामा आउने राष्ट्र बैङ्कको अपेक्षा रहेको छ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्न र नोट छपाइ खर्च कम गर्न यस्तो निर्णय गरेको राष्ट्र बैङ्कले जनाएको छ ।

दसैँमा साना तथा ठुला दरका नोट आवश्यक हुनेलाई एक वर्षअघि बजारमा पठाएर फिर्ता आएका सुकिला नोट बैङ्कमार्फत सटही व्यवस्था मिलाइने प्रवक्ता पोखरेलले बताए। “ठुलो लागत लगाएर छापेको नयाँ नोट दसैँमा धेरै फोहोर हुने र त्यसको आयुसमेत घट्ने गरेको छ । यसकारण दसैँमा नयाँभन्दा पनि सुकिला नोट दिने तयारी गरेका छौँ,” उनले भने।

दसैँतिहारका लागि ५, १० २०, ५० र १०० का साना दरका नोट सटहीको सुविधा दिँदै आएको राष्ट्र बैङ्कले यस पटक सोही नोट सटहीको सुविधा दिने छ । यस पटक पनि प्रतिव्यक्ति १८ हजार पाँच सयकै हाराहारीमा नोट सटही गरिने राष्ट्र बैङ्कले जनाएको छ ।

दसैँमा नयाँ नोट छापेर बजारमा पठाउने, तिनै नोट चाडपर्वमा प्रयोग गर्दा छिट्टै बिग्रने गरेको हुँदा यसलाई कमी गर्न राष्ट्र बैङ्कले नयाँ नोट बन्द गर्न लागेको प्रस्ट पारेको छ । सामान्यतया नोटको दर अनुसार तीनदेखि चार वर्ष नोटको आयु हुने राष्ट्र बैङ्कले जनाएको छ ।

राष्ट्र बैङ्कका अनुसार पाँच वर्षको औसत हेर्दा नयाँ नोट छपाइका लागि नै एक अर्ब ३० करोड रुपियाँ बर्सेनि खर्च हुँदै आएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्