आज मदन भण्डारीको ७३औँ जन्मजयन्ती मनाइँदै

होस्ट खबर १५ असार २०८१, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ : नेकपा (एमाले)का तत्कालीन महासचिव मदनकुमार भण्डारीको ७३औँ जन्मजयन्ती आज मनाइँदै छ । कम्युनिष्ट आन्दोलनमा उनले गरेको योगदानको स्मरण गर्दै आज दिवस जन्मजयन्ती मनाउन थालिएको हो ।

मदन भण्डारी फाउण्डेसनको आयोजनामा आज ललितपुर च्यासलस्थित एमाले पार्टी कार्यालयमा मदन भण्डारी राष्ट्रिय पुरस्कार वितरण तथा जबजः राजनीतिक विकास र स्थायित्व विषयक विचार गोष्ठीको आयोजना गरिएको छ ।

जन्मजयन्तीका अवसरमा यसअघि अनेरास्ववियुले यही असार १२ गते वृक्षरोपण गरेको थियो । मदन भण्डारीले २०४९ माघ १४–२० मा सम्पन्न एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरेर पारित गरिएको ‘जनताको बहुदलीय जनवाद’ अहिले पनि एमालेको मार्गदर्शक सिद्धान्तका रूपमा रहेको छ ।

वि.सं २००९ असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा आमा चन्द्रकला र बुबा देवीप्रसाद भण्डारीको माइला छोराका रूपमा उनको जन्म भएको थियो ।

वि.सं २०५० जेठ ३ गते पार्टीको कामको सिलसिलामा पोखराबाट चितवन आउने क्रममा दासढुङ्गामा दुर्घटना हुँदा उनीसहित पार्टीका सङ्गठन विभाग प्रमुख जीवराज अश्रितको निधन भएको थियो ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्