जसपा विभाजित, उपेन्द्र यादवको मन्त्री पदसमेत संकटमा

होस्ट खबर २४ बैशाख २०८१, सोमबार
2 Min Read
Aa

सुर्खेत : १२ सांसद रहेको जनता समाजवादी पार्टी विभाजन भएपछि अध्यक्ष उपेन्द्र यादवसँग ५ सांसद बाँकी रहेका छन् । सात सांसदले जसपा पार्टी गठन गरेपछि उपेन्द्रसँग उनीबाहेक ४ सांसद बाँकी रहेका हुन् । बाँकी रहेका सांसदमा राजकिशोर यादव, रेखा यादव, प्रकाश अधिकारी र दीपक कार्की छन् ।

१२ मध्ये अशोक राई, प्रदीप यादव, वीरेन्द्र महतो, नवलकिशोर साह सुडी, सुशीला श्रेष्ठ, हसिना खानुत र रञ्जु ठाकुर नयाँ पार्टीतिर लागेका छन् । राईको नेतृत्वमा बनेको नयाँ दलको नाम जसपा राखिएको छ । उपेन्द्रसँग पार्टी फुटेको भन्दै नयाँ दलका लागि आइताबर नै निर्वाचनमा आयोगमा निवेदन दिइसकिएको छ ।
७ सांसद बाहिरिएपछि उपेन्द्रको पार्टी ६ सांसद रहेको जनमतभन्दा पनि सानो बन्न पुगेको छ ।

यसैबीच उपेन्द्र यादवको मन्त्री पद संकटमा परेको छ । हाल अमेरिकामा रहेका उनी उपप्रधान एवम् स्वास्थ्यमन्त्रीबाट पदमुक्त हुने खतरा बढेको नेताहरु बताउँछन् । उपेन्द्रले कांग्रेससँग मिलेर अहिलेको गठबन्धन भत्काउने प्रयास गरेपनि अहिलेको परिस्थिति बनेको बताइएको छ । दल फुटाउन सत्तारुढ गठबन्धनकै केही नेताको भूमिका रहेको दाबी गरिएको छ ।

जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनको कनेक्सन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको पछिल्लो सक्रियतासँग समेत सम्बन्धित रहेको पाइएको छ । नेपालले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई समेत साथमा लिएर वैकल्पिक गठबन्धनका लागि प्रयास गरिरहेका बेला जसपा विभाजन भएको हो ।

उपप्रधान तथा स्वास्थ्यमन्त्री समेत रहेका यादव अमेरिका उड्नुअघि नेपालले उनीसँग गोप्य छलफल गरेका थिए ।

‘माधव नेपाल र उपेन्द्र यादव मिलेर एक९एक वर्ष प्रधानमन्त्री बन्ने र यो गठबन्धन ढाल्ने खेल भइरहेको थियो, त्यसैविपरीत जसपा विभाजन भएको हो,’ विश्वस्त स्रोतले भन्यो ।

उपेन्द्रले यसबीचमा कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि गोप्य छलफल गरेका थिए । देउवासँग मिलेर आलोपालोमा प्रधानमन्त्रीसमेत खाने रणनीतिमा रहेका उपेन्द्र अहिले संकटमा छन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array