संविधान संशोधनको नेतृत्व पनि कांग्रेसले लिनुपर्छः उपसभापति खड्का

होस्ट खबर ११ फाल्गुन २०८०, शुक्रबार
2 Min Read
Aa

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले वर्तमान संविधान कांग्रेसको नेतृत्वमा जारी भएको भन्दै संविधान संशोधनको नेतृत्व पनि कांग्रेसले नै लिनुपर्ने धारणा राखेका छन् ।

ललितपुरको गोदाबरीमा पार्टीको महासमिति बैठकको समापनमा उनले कांग्रेसले अन्य राजनीतिक दललाई विश्वासमा लिएर संविधान जारी गरेको स्मरण गर्दै संविधान संशोधनको नेतृत्व पनि कांग्रेसले नै लिनुपर्ने समय आएको बताएका हुन् ।

संविधान जारी गर्ने बेला विभिन्न राजनीतिक दलहरूसँग गरेको प्रतिवद्धता बमोजिम संविधान संशोधन गर्नुपर्ने उनको भनाइ छ । ‘संविधान जारी गर्ने बेला सर्वसम्मति हुन नसकेको सत्य हो । संविधानमा सबैका सबै कुरा समेटिएका छैनन् । कतिपय क्षेत्र, वर्ग र समुदायका अधिकारका विषय छुटेका पनि छन्, कतिपय असन्तुष्टिहरू छन्’, उनले भने ‘संविधान जारी भई कार्यान्वयनमा आएको आठ वर्ष बितेको छ । अब संविधान कार्यान्वयनका समीक्षा गर्दै आवश्यक संशोधनका लागि कांग्रेसले वातावरण बनाउनु आवश्यक छ ।’

उनले अन्य राजनीतिक दललाई विश्वासमा लिएर संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप मजबुद बनाउन पहल लिनुपर्नेमा जोड दिए। उपप्रधानमन्त्री एवम् रक्षामन्त्री समेत रहेका खड्काले कांग्रेसका तर्फबाट वर्तमान मन्त्रिमण्डलमा सहभागी नौ मन्त्रीले पार्टीले शीर झुकाउनुपर्ने गलत काम नगरेको उल्लेख गरे। कांग्रेसको तर्फबाट सरकारको नेतृत्व गरिरहेका उनले सरकारमा रहेका नेताहरूले जनतालाई सेवा गरिरहेको बताए।

“सभापतिज्यूले मलाई विश्वास गरेर मेरो नेतृत्वमा नौ जना साथीलाई सरकारमा पठाउनुभएको छ, आजका दिनसम्म हामीले जनतालाई केन्द्रमा राखेर काम गरिरहेका छौँ”,उनले भने,“म गर्वका साथ भन्नसक्छु हामीले जनता र पार्टीको शिर झुकाउनुपर्ने खालका कुनै पनि काम गरेका छैनौँ।” वर्तमान सरकार सुशासन स्थापनाका लागि प्रयासरत रहेको भन्दै महासमिति बैठकमा मन्त्रीबारे प्राप्त टिप्पणी र सुझावलाई ध्यानमा राखेर अगाडि बढ्नेमा विश्वास व्यक्त गरे।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्