अख्तियार कार्यालय कर्णालीमा ११०० उजुरी

होस्ट खबर २९ माघ २०८०, सोमबार
2 Min Read
Aa

सुर्खेत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा अनियमिततासम्बन्धी उजुरीको चाङ लागेको छ ।

कर्णाली प्रदेशका १० जिल्ला र रुकुम पूर्वबाट चालु आर्थिक वर्षको छ महिनामा एक हजार ९५ उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा दर्ता भएका हुन् । गत आव २०७९/०८० भन्दा यो वर्ष अनियमिततासम्बन्धीका उजुरी बढेको अख्तियारको सुर्खेतस्थित कार्यालयले जनाएको छ ।

चालु आवको साउनदेखि हालसम्म सबैभन्दा बढी सुर्खेतका दुई सय ७३ उजुरी दर्ता भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत कार्यालयका सूचना अधिकारी रत्नचन्द्र गौतमले जानकारी दिए । जिल्लागत रुपमा सबैभन्दा कम रुकुम पूर्वबाट २० वटा उजुरी दर्ता हुँदा रुकुम पश्चिमबाट ८६ वटा उजुरी दर्ता भएका छन् ।

त्यसैगरी, दैलेखबाट एक सय ७७ वटा, डोल्पाबाट ५८ वटा, सल्यानबाट ७६ वटा उजुरी दर्ता भएको गौतमले बताउनुभयो । यस्तै, जाजरकोटबाट ७१ वटा, जुम्लाबाट एक सय १७ वटा, कालीकोटबाट ७८, मुगुबाट ९७ वटा र हुम्लाबाट ७८ वटा उजुरी दर्ता भएका छन् ।

सूचना अधिकारी गौतमअनुसार गत वर्षका नौ सय ४४ र चालु आवका एक हजार ९५ गरी कूल दुई हजार ३९ उजुरी परेका छन् । तीमध्ये पाँच सय ४९ उजुरीको टुङ्गो लागेको छ भने एक हजार चार सय ९० उजुरीको टुङ्गो लाग्न बाँकी रहेको उहाँले जानकारी दिए ।

स्थानीय र प्रदेश सरकारका आयोजनाका अनियमिततासम्बन्धीका उजुरी बढ्दै गएको अख्तियार सुर्खेत कार्यालयका सूचना अधिकारी गौतमले जानकारी दिए । आयोगले आफ्नो ३३ औँ स्थापना दिवस सुर्खेतमा पनि मनाएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्