सुर्खेत : सुर्खेतमा एकजना युवक मृत फेला परेका छन् । सुर्खेतको पञ्चपुरी नगरपालिका ६ मा सोही वडाको कुवापानी गाउँका १८ वर्षीय भरत बुढा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

उनी मृत फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटना शंकास्पद देखिएपछि प्रमुख प्रहरी उपरीक्षक योगेन्द्र थापा नेतृत्वको टोलीले घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ ।
अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतका अनुसार भरतको बन्चरो प्रहार गरी हत्या भएको खुलेको हो ।
मगलबार बिहान १ बजेतिर घर नजिकै मृत अवस्थामा भरतको शव भेटिएको थियो । स्थानीयले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय बाबियाचौरको प्रहरी त्यहाँ पुगेर घटनास्थल सुरक्षित राखेको थियो ।
रातिनै कर्णाली प्रदेश प्रहरी कार्यालयबाट प्रहरी वरिष्ठ नायव निरीक्षक नारायण शर्मा र जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी हवलदार टिकाराम आचार्यसहितको अनुसन्धान टोली उक्त स्थानमा खटिएको थियो ।
जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापा आफैँ पनि घटनास्थलमा पुगेका थिए भने कोहलपुरबाट तालिम प्राप्त कुकुरसहितको अनुसन्धान टोली त्यहाँ पुगेको थियो ।
अनुसन्धानमा खटिएका एक अनुसन्धान अधिकृतका अनुसार भरतलाई धारिलो हतियार बन्चरो प्रहार गरेर हत्या गरिएको छ । हत्या पश्चात् उनकै घर अगाडिको बाख्राको खोर नजिकै सुकेको घाँसले शवलाई छोपेर राखिएको थियो ।












प्रतिक्रिया दिनुहोस्