आजदेखि निर्वाचन आचारसंहिता लागू, के गर्न पाइँदैन ?

होस्ट खबर २ माघ २०८०, मंगलवार
2 Min Read
Aa

काठमाडौं : निर्वाचन आयोगले आउँदो माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको चुनावका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ । आयोगले आजदेखि माघ १२ गतेसम्म जारी हुने गरी आचारसंहिता लागू गरेको हो ।

आचारसंहिता अवधिभर कुनै सार्वजनिक स्रोत साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग गर्न वा गराउन नपाइने निर्वाचन आयोगले जनाएको छ । यस्तै प्रचारप्रसार लगायतका कुरामा पनि आयोगले गर्न नहुने कुराहरूको सूची प्रकाशन गरेको छ ।

कुनै सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्था वा विश्वविद्यालय वा विद्यालय वा महाविद्यालयको क्षेत्र प्रयोग गरी चुनावसम्बन्धी भेला वा प्रचारप्रसार गर्न वा गराउन नहुने आयोगको विज्ञप्तिमा उल्लेख छ । यस्तै राजनीतिक दल वा उम्मेदवारको चुनाव चिह्न अङ्कित कुनै सामग्री उत्पादन गर्न, प्रयोग गर्न, बिक्री वितरण गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने कानुनी व्यवस्था छ ।

साथै ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय र अपाङ्गता भएका व्यक्तिको भावनामा आँच आउने वा चरित्र हत्या हुने गरी चुनाव प्रचारप्रसार गर्न वा गराउन तथा बालबालिकालाई चुनाव प्रचारप्रसारमा प्रयोग गर्न वा गराउन पाइँदैन ।

आचारसंहिताअनुसार प्रचलित कानुन बमोजिम निषेध गरिएको समय र ठाउँमा अवरोध हुने गरी कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला गरी चुनाव प्रचारप्रसार गर्न वा गराउन पाइँदैन । यस्तै सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न वा गराउन, चुनावलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने, अपमान गर्ने, द्वेषपूर्ण भाषण ९हेट स्पिच० गर्ने जस्ता भ्रामक टिप्पणी गर्न वा गराउन नहुने विज्ञप्तिमा भनिएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्