मन्त्री ज्वालाले बालकुमारी घटनामा उत्प्रेरक भूमिका खेलेको गृहमन्त्री श्रेष्ठको आरोप

होस्ट खबर १६ पुष २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौं : उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले गत शुक्रबार दुई जना युवाको ज्यान जानेगरी ललितपुरको बालकुमारीमा घटेको घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले उत्प्रेरक भूमिका निर्वाह गरेको आरोप लगाएका छन् । आज (सोमबार) प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री श्रेष्ठले मन्त्री ज्वाला पुगेपछि घटनाले उग्र रुप लिएको जवाफ दिएका हुन् ।

‘मन्त्रीज्यू पार्टीको कार्यक्रममा निस्कनुभएको रहेछ। त्यही बाटो भएर आउनुभएको थियो। त्यो बाटोबाट मन्त्रीज्यू किन आउनुभएको होला रु ’उनले भने, ‘यो घटनालाई अर्को मोडतर्फ लैजान यसले उत्प्रेरकको भूमिका खेलेको छ। त्योअघि प्रहरीले लाठी चार्ज, अश्रु ग्यासलगायत मात्रै गरेको थियो। मन्त्रीजीको गाडी त्यहाँ आइसकेपछि उहाँ बाहिर निस्केर सवाल जवाफमा पनि लाग्नुभएछ, धकेलाधकेल पनि भएछ ।’

कोरियाली भाषा परीक्षाबारे विवादलाई लिएर आन्दोलनमा उत्रिएका युवाहरुमाथि प्रहरीले गोली चलाउँदा दुई जनाको मृत्यु भएको थियो । प्रहरीको गोली लागेर अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएपछि अहिले सरकारको चौतर्फी आलोचना भइरहेको छ । गत शनिबारदेखि सुर्खेतको वीरेन्द्रनगरमा मन्त्री ज्वाला र गृहमन्त्री श्रेष्ठको राजीनामा माग्दै प्रदर्शन भइरहेको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्