बालकुमारी घटना: कहाँ चुक्यो प्रहरी ?

होस्ट खबर १४ पुष २०८०, शनिबार
2 Min Read
Aa

काठमाडौं : कसैले नेतृत्व नगरेको आन्दोलन जुनसुकै वेला हिंसात्मक हुन सक्छ भन्ने कुरा गत वर्ष काठमाडौंको गोंगबु क्षेत्रको घटनाले देखाइसकेको छ । तर, प्रहरीले त्यसबाट पाठ सिकेको देखिएन । सोही कारण शुक्रबार बालकुमारीमा ठूलो क्षति हुन पुग्यो । कोरिया जाने परीक्षाको आवेदन दिन नपाएपछि युवाहरू इपिएस शाखालाई दबाब दिन भेला भएका थिए । तर, कर्मचारीले उनीहरूलाई राम्रो व्यवहार नगरेपछि उनीहरू भड्किए, जसको आकलनमा प्रहरी चुक्यो । जब कि उनीहरूले केही दिनयता त्यहाँ आन्दोलन गर्दै आएको विषयमा प्रहरी जानकार थियो ।

नेतृत्वविहीन भिड अप्रत्याशित हुने कुरामा प्रहरी सचेत हुनुपर्नेमा शुक्रबार बालकुमारीमा त्यो नदेखिएको अवकाशप्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक राजेन्द्रसिंह भण्डारी बताउँछन् । ‘यस्ता भिड जतिसुकै वेला अराजक हुन सक्छन् भनेर सुरक्षा निकायले जोखिम मूल्यांकन गरेको देखिएन,’ उनले भने, ‘अर्कोतर्फ प्रहरीले खस्किएको मनोबलका कारण पनि क्षति धेरै भएको हुन सक्छ ।’

प्रहरीले अवस्थाको पूर्वानुमान गर्न नसक्दा संयमता गुमाउन पुगेको थियो । फिल्डमा खटिएका एक प्रहरी अधिकारीका अनुसार मन्त्रीको गाडी जलाएपछि उनीहरूबाट अन्य व्यक्तिमाथि आक्रमणसमेत हुन सक्ने देखिएपछि हतारमा गोली चलाइएको हो । प्रहरीले राम्रोसँग भिड नियन्त्रण गर्न सक्ने अवस्था रहेको प्रहरी अधिकारी नै बताउँछन् ।

प्रहरी अर्कोतर्फ चुकेको भनेको आन्दोलन भएको क्षेत्रमा मन्त्रीलाई जान दिएर हो । यातायातमन्त्री ज्वाला पार्टीको बैठकमा सहभागी हुँदा त्यहाँ पुगेका थिए । त्यहाँ आन्दोलन भइरहेको उनले जानकारी पाएनन् । जब कि मन्त्रीको पिएसओको जिम्मेवारी नै प्रहरीसँग समन्वय गरी सुरक्षा गर्ने हो । प्रहरीले भने मन्त्रीका पिएसओले त्यसबारे जानकारी नगराएको बताएको छ । ललितपुरका एसपी नवराज कार्कीले भिड आक्रोशित भएको र अन्य व्यक्तिमाथि समेत जोखिम बढेपछि गोली चलाउनुपरेको बताए । यो घटनामा राज्यबाट पीडित भएको युवा र प्रहरीबीचको भिडन्त भएको उनको भनाइ छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्