भेरी-बबई डाइभर्सनको काममा ऊर्जामन्त्री असन्तुष्ट

होस्ट खबर ५ पुष २०८०, बिहीबार
2 Min Read
Aa

काठमाडौँ : राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन आयोजनाको कार्य प्रगतिप्रति असन्तुष्टि जनाउँदै ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आयोजना सम्बद्ध अधिकारीलाई मन्त्रालयमै बोलाएर छलफल गरेका छन् । आयोजना निर्माणको काममा ढिलाइ भइरहेको भन्दै आयोजनाका पदाधिकारी र निर्माण व्यवसायीलाई तत्काल काममा गति दिन निर्देशन दिएका छन् ।

आयोजनाको काममा ढिलाइ गर्ने छुट कसैलाई पनि नभएको भन्दै मन्त्री बस्नेतले निर्माण व्यवसायी तथा आयोजना सम्बद्ध अधिकारीसँग असन्तुष्टि पोखे । आयोजनाको सुरुङ निर्माण सम्पन्न भएको लामो समय भए पनि बाँधस्थल र विद्युत गृहको काममा अपेक्षित प्रगति हुन सकेको छैन । निर्माण व्यवसायीको कमजोर कार्य सम्पादनका कारण निर्माण कार्यले गति लिन सकेको छैन ।

कामले अपेक्षित गति नलिएपछि मङ्गलबार मन्त्री बस्नेतले अब पनि अपेक्षित प्रगति नभए सहन नसकिने भन्दै भेरी–बबई डाइभर्सन आयोजनाका अधिकारी र निर्माण व्यवसायीलाई चेतावनीसमेत दिए । छलफलमा निर्माण व्यवसायी रमण कन्स्ट्रक्सनका प्रमुख रमणकुमार महत्तोले आयोजनाका अधिकारीले समयमा भुक्तानी नगरिदिएको तथा अन्य अत्यावश्यक काम नगरिदिएका कारण आयोजना स्थलमा प्रभावकारी काम गर्न नसकेको आरोप लगाए ।

आयोजना निर्देशक रणबहादुर बम लगायतका अधिकारीले निर्माण व्यवसायीले काम नगरेको, आवश्यक जनशक्ति परिचालन नगरेको तथा उपकरण एवं निर्माण सामग्रीको प्रबन्ध नगरेको भन्दै गुनासो गरे । एकले अर्कालाई दोष देखाएर आयोजनाका काममा ढिलाइ गरेको भन्दै मन्त्री बस्नेतले भने, ‘एकले अर्कोलाई दोष देखाएर राष्ट्रिय गौरवको आयोजनामा समस्या सिर्जना गर्ने काम नगर्नूस् । समस्या के हो रु समाधानको उपाय के हो रु त्यो प्रस्तुत गर्नूस् ।’

उनले अबदेखि हरेक १५ दिनमा सिँचाइ विभागले र हरेक महिनामा मन्त्रालयका तर्फबाट आयोजनाको निरीक्षण गर्ने बताए । आयोजनाका निर्देशक बमले दैनिक २६० घनमिटरका दरमा ढलान तथा कङ्क्रिटको काम हुनुपर्ने बताए । उनले आयोजनामा दैनिक तीन सिफ्टमा काम गर्ने वातावरण मिलाइने विश्वास दिलाए ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्