जाजरकोटमा चिसोका कारण मृत्यु हुनेको संख्या सात पुग्यो

होस्ट खबर ३ मंसिर २०८०, आईतवार
1 Min Read
Aa

सुर्खेत : चिसोका कारण जाजरकोटमा थप तीनजना वृद्धको ज्यान गएको छ । एक साताभित्रै चिसोका कारण सातजना वृद्धवृद्धाको ज्यान गइसकेको छ ।

भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाउँपालिका–४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, बारेकोट गाउँपालिका–१ रामीडाँडाका ७० वर्षीय डुमे पुन र छेडागाड नगरपालिका–१३ थानवाडाकी ५६ वर्षीया मनसरी कामीको चिसोका कारण मृत्यु भएको हो ।

डुमे दमका दीर्घरोगी पनि थिए । त्रिपालभित्रको बसाइ र अत्यधिक चिसोको काण उनको ज्यान गएको बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले बताए । मनसरी दमकी दीर्घरोगी भएको र त्रिपालको चिसोले दम बढेपछि उनको ज्यान गएको छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्र थापाले बताए ।

त्रिपालमुनिको बसाइका कारण बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको छ ।

यसअघि गत साता नलगाड भेरी र बारेकोटमा गरी चिसोका कारण चारजना दीर्घरोगीको ज्यान गएको थियो ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्