मुगु हत्याकाण्ड :‘स्लीपिङ ट्याब्लेट खुवाएर’ आमासहित तीन छोराछोरीको हत्या

होस्ट खबर १२ कार्तिक २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौँ : प्रहरीले मुगुमा भएको सामूहिक हत्याको प्रारम्भिक अनुसन्धान सकाएको छ । आमासहित तीन छोराछोरीको धारिलो हतियार प्रहार गरी हत्या भएपछि प्रहरीले विशेषज्ञ टोलीसहितको सहभागितामा अनुसन्धान थालेको थियो ।

मुगुको छायाँनाथ नगरपालिका ६ स्थित मन्दु गाउँका २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षीय छोरा मनोज बोहरा, ९ वर्षीया छोरी अप्सरा र ८ महिनाका दुधे बालक रहर बोहराको धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव भेटिएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

प्रारम्भिक अनुसन्धान सकिएलगत्तै मृतक चारै जनाको शवको मुचुल्का उठाएर पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी वीरेन्द्र थापाले जानकारी दिए । साँझ ५ बजेतिर शव उठाएर जिल्ला अस्पताल लगिएको उनले बताए । सदरमुकाम पुग्न चार घण्टाभन्दा बढी लाग्ने भएकाले पोस्टमार्टम आज हुनेछ । वैदेशिक रोजगारीमा कतारमा रहेका श्रीदेवीका श्रीमानसमेत आइपुगेका छन् ।

प्रारम्भिक अनुसन्धानका क्रममा हत्यामा संलग्नले पहिले मृतक श्रीदेवीलाई स्लीपिङ ट्याब्लेट खुवाएर धारिलो हतियार प्रहार गरी हत्या गरिसकेपछि छोरा, छोरीको पनि हत्या गरेको खुल्न आएको डिएसपी थापाको भनाई छ । घटनामा कति जनाको संलग्नता छ भन्नेबारे अझै खुल्न नसकेको उनले बताए । घटनास्थलबाट कानमा लगाएको सुनसहित तिलहरी जस्तो गहनासमेत भेटिएको प्रहरीले जनाएको छ । अन्य गहनासमेत लुकाएर राखेको अवस्थामा भेटिएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्