चिनीबिनै नेपाली उपभोक्ताले मनाए बडादशैं

होस्ट खबर १२ कार्तिक २०८०, आईतवार
2 Min Read
Aa

काठमाडौँ : असोज अन्त्यतिर वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १ लाख ८० हजार क्विन्टलभन्दा बढी चिनी बजारमा बेच्न चिनी उद्योगीसँग सहमति गरे पनि चिनीबिना नै उपभोक्ताले दशैँ मनाएका छन् ।

बजारमा अभाव र कालोबजारी हुन सक्ने सामानलाई प्रतिस्पर्धात्मक बनाउनका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेट र साल्ट ट्रेडिङ कर्पोरेसन हुँदाहुँदै व्यापारीलाई नै चिनी बेच्नुपर्छ भनी विभागले सहमति गरेसँगै झनै कालोबजारी मौलाएको हो ।

विभागले कार्तिक २ गते बुधबारबाट ११५ रुपैयाँमा खुद्रा पसलेले चिनीको आपूर्ति सहज बनाएको दाबी गरे पनि उपत्यकाका अधिकांश पसलमा चिनीको छैन । विभागका महानिर्देशक तीर्थराज चिलुवालले विभागकै सहमतिमा एभरेस्ट र हिमालयन सुगर मिलमा रहेको १ हजार मेट्रिक टन चिनी बजारमा बेच्न पढाइएको बताए ।

उनले केही दिन अगाडि ११ ओटन चिची मिलको स्टक निरीक्षण गर्ने क्रममा अन्यमा मौज्दात नरहेको बताए । अहिले भएको चिनी कोक र पेप्सीका लागि बेच्न राखेको चिनी बजारमा पठाएको उनले बताए । ५० हजार मेट्रिक टन भारतबाट मगाएको नआएपछि चिनीको अभाव भएको विभागले जनाएको छ ।

समयमा गुलियो परिकार पकाएर खाने नेपालीका लागि यसपालिको दशैँमा भने मासुभातमा मात्र सीमित हुनुपरेको छ । अन्य बेलाको तुलनामा चाडवाडका बेला चिनीको माग ह्वात्तै बढ्ने गर्छ । यस्तो बेलामा चिनीको मागलाई सरकारले नै ख्याल नगर्दा उपभोक्ताले दुःख पाएका छन् ।

बजारमा चिनीको अभाव देखिएसँगै व्यापारीहरुले चिनीको मूल्य बढाएका छन् । गत असोज महिनासम्म ९५ रुपैयाँ प्रतिकेजीमा उपलब्ध चिनीको मूल्य यतिबेला प्रतिकेजी १७० रुपियाँसम्म बिक्री भइरहेको उपभोक्तहरुले बताउने गरेका छन् ।

गत कार्तिक १ गतेसम्म बजारमा अभाव देखिएको चिनी एकाएक २ गतेबाट महँगो मूल्यमा बजारमा पाउन थालियो । यसरी कालोबजारीमा बेचिने चिनी भने व्यापारीले आफूले चिनेका र व्यापारीलाई मात्र दिने गरेको उपभोक्ताले बताउने गरेका छन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्