स्वर्ण पदक बिजेता नन्दालाई बागीनाको सम्मान

होस्ट खबर २ भाद्र २०८०, शनिबार
3 Min Read
Aa

सुर्खेत : विश्व स्योङ्नाम हान्मादाङ अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपकी स्वर्ण पदक विजेता नन्दा बस्यालको परिचय खेल क्षेत्रमा मात्रै सिमित छैन । उनको क्षेत्र कलाकारिता र खेल दुवै हो ।

अहिले उनी राष्ट्रिय खेलकुद परिषद्को कार्यकारी बोर्ड सदस्य समेत छिन् । उनको परिचय एक सफल नृत्य निर्देशक समेत हो । खेल क्षेत्रमा उनको विधा तेक्वान्दो भए जस्तै कला क्षेत्रमा उनको विधा नृत्य र अभिनय दुवै हो भने उनको साधना गृह बागीना समूह सुर्खेत हो । नृत्य विधाकी अब्बल कलाकार नन्दाको अहिले गृह जिल्लामा भव्य स्वागत भइरहेको छ भने बधाई दिने सुर्खेतीहरु निकै खुशी छन् ।

कला क्षेत्रमा पाइला टेकाउने संस्था बागीनामा शनिबार उनको स्वागत र बधाई बरिष्ठ संगीतकार गंगा के.सी.को संगीत, बरिष्ठ कलाकार प्रेमदेव गिरीको मादल, ज्ञानबहादुर नेपालीको बाँसुरी र देवराज गिरीको मादलको तालबाट भयो । बरिष्ठ नृत्य निर्देशक कुलमान नेपाली, बरिष्ठ कलाकारहरु मञ्जु मेदासी, माया थापा, संस्थाका अध्यक्ष गणेश बस्नेत, खेमराज बस्याल, प्रकाश शाही, लगायत बागीनका कलाकारको उपस्थितीमा कार्यक्रम आयोजना गरिएको थियो ।

५७ देशको सहभागिता रहेको प्रतिस्प्रधामा स्वर्ण जित्नु चानचुने कुरा थिएन । अन्तर्राष्ट्रिय पदक बिजेता खेलाडीका रुपमा नेपालको झण्डा उठाएर कोरियामा उपस्थित हुन पाउँदा निकै खुशी भएको र बागीनाको आँगनमा खुशी साट्न पाउँदा जिवनकै अविष्मरणीय क्षणका रुपमा रहेको नन्दाले बताइन् ।

स्वर्ण पदक विजेता नन्दा बस्यालले कोरयामा जुलाई २१ देखि २४ सम्म सम्पन्न भएको विश्व स्योङ्नाम हान्मादाङ अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप प्रतियोगितामा स्वर्ण पदक जितेकी थिइन् ।

यसैविच गृह जिल्ला सुर्खेतमा समेत नन्दालाई भव्य सम्मान गरिएको छ ।सुर्खेत जिल्ला तेक्वान्दो संघले आयोजना गरेको अन्तर्राष्ट्रिय पदक बिजेता खेलाडी सम्मान कार्यक्रममा बस्यालसँगै कास्य पदक बिजेता प्रविन बयकलाई समेत सम्मान गरिएको हो ।


स्वर्ण पदक बिजेता बस्याल र बयकलाई पञ्चेबाजासहित वीरेन्द्रनगर बजार परिक्रमा गराइएको छ । सम्मान कार्यक्रममा खेलाडीहरुको सहभागिता रहेको थियो भने स्थानीयले बस्याल र बयकलाई फुलमाला खादाले विभिन्न चोकमा सम्मान गरेका थिए ।

अर्का तेक्वान्दो खेलाडी प्रविन बयकले असार २९ गते थाइल्याण्डमा सम्पन्न भएको ओप्पन तेक्वान्दो प्रतियोगितामा कास्य पदक जितेका थिए ।
कर्णाली प्रदेश तेक्वान्दोका प्रमुख प्रशिक्षक भुवन थापाले कर्णालीकी छोरी नन्दा बस्याले अन्तर्राष्ट्रिय स्तरमा स्वर्ण पदक जितेर नेपालको नाम संसारभर चिनाएकोमा स्वर्ण पदक बिजेता बस्यालाई बधाइ दिए ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चन्द्र गिरीले कर्णालीमा पनि अन्तर्राष्ट्रिय स्तरमा स्वर्ण पदक बिजेता खेलाडीहरु छन् भन्ने यो बलियो उदाहरण तेक्वान्दो खेलाडी नन्दा बस्यालले देखाएको बताए ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्