२ महिनामा २२ पटक: २ हजार किलोभन्दा बढी सुन तस्करी भएको अनुमान

होस्ट खबर ५ श्रावण २०८०, शुक्रबार
2 Min Read
Aa

काठमाडौं : सुन तस्करले बिल्कुुल नयाँ तरिका अपनाएर सुन तस्करी गरेको पाइएको छ । बुधबार राजस्व अनुसन्धान विभागले भन्सार चेक भएर बाहिरिन लाग्दै गर्दा १ सय ५५ केजीभन्दा बढी तौलको सुन पक्राउ गरेपछि यो प्रकरणको जालो उच्च तहसम्म नै रहेको अनुमान गरिएको छ ।

विभागले मोटरसाइकल र स्कुटरको ‘ब्रेक सु’भित्र लुकाएर ल्याएको सुन बरामद भएपछि सुन तस्करीको नयाँ शैली खुलेको हो । सुनमा कालो पदार्थले लेपनसमेत गरिएको थियो ।

विभागका अनुसन्धान अधिकृतले अनुसन्धान गर्दा सो सुनको कारोबार रेडी ट्रेड प्राइभेट लिमिटेडमार्फत हुँदै आइरहेको पाइएको छ । विभागको विशेष टोलीले रेडी ट्रेडका सञ्चालक दिलिप भुजेल र अन्य दुई जनालाई नियन्त्रणमा लिइसकेको छ ।

प्रारम्भिक अनुसन्धानमा यसअघि पनि पटक–पटक रेडी ट्रेडले ब्रेक सु आयात गरेको खुलेको छ । त्रिभुवन विमानस्थल भन्सारबाट दुई महिनामा करिब २२ पटक यस्तै ‘ब्रेक सु’ आयातपछि सुरक्षा जाँच गरेर लगेको देखिएको स्रोतले बतायो । यो प्रकरणमा केही व्यावसायिक घराना र राजनीतिक नेतृत्वसमेत मुछिएको हुन सक्ने विभागका अधिकारीहरूको आशंका छ ।

विभागले गरेको अनुसन्धानका आधारमा दुई महिनाको अवधिमा झण्डै २२ अर्ब मूल्य बराबरको २२ क्विन्टल सुनको तस्करी भएको अनुमानसमेत गरिएको छ ।

अनुसन्धान अधिकृतहरूका अनुसार दुई महिनाको अवधिमा आयात गरिएका ती ब्रेक सुहरू कहाँ गए भन्ने बारेमा समेत गहन अध्ययन आवश्यक देखिएको छ । नेपाल समाचारपत्र दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्