आज बि.सं. २०८० साल असार २३ गते शनिवारको राशिफल

होस्ट खबर २३ असार २०८०, शनिबार
6 Min Read
Aa

सुर्खेत : २०८० असार २३ गते शनिवार, ८ जुलाई २०२३ । शुद्ध श्रावण कृष्णपक्ष पञ्चमी तिथि, प्रातः ५ः३३ बजेपछि षष्ठी । पूर्वभाद्रपदा नक्षत्र । चन्द्रराशि– कुम्भ, २०ः४३ बजेपछि मीन ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्यांकन होला । पढाइमा प्रगति हुनेछ भने नयाँ ज्ञान प्राप्त हुने योग छ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुनेछ । सञ्चित धनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
समयमा निर्णय लिन नसक्दा पुरानै काम दोहोर्याउनुपर्ला । नियमित काम सम्पादन भए पनि निर्णायक मोडमा दुविधा उत्पन्न हुनेछ । बेसुरमा काम गर्दा समस्या पर्नेछ । तापनि, लगनशीलताले काम सम्पादन हुनेछ । आजको श्रमबाट पछिलाई फाइदा हुनेछ । अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । भविष्यका लागि भने कामको जग बसाउने मौका छ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
श्रम परे पनि तारिफयोग्य काम गर्दै अरूको उपकार गर्न सकिनेछ । धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ । आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ । सामाजिक दायित्व बढ्नेछ । परिस्थिति अनुकूल हुनाले रोकिएको काम बन्न थाल्नेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला । स्वास्थ्य कमजोर रहे पनि कामको चाप बढ्नेछ । अर्थका हिसाबले पनि दिन कमजोर रहला । परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ । पहिलेको समस्या सुल्झाउन निकै परिश्रम गर्नुपर्ला । सहयोग गर्नेहरू कमै भेटिनेछन् । धेरै लगानी गर्दा थोरै फाइदा हुनेछ । हुलमुलमा धनमाल जोगाउन सजग रहनुहोला ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
पहिलेको सफलताले हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । बिछोडिएका आफन्तसँग रमाइलो भेटघाट हुनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । विगतका कमजोरी सुधार गर्ने मौका छ । घरमा सुख र समृद्धिको आगमन हुनेछ । अतिथिका रूपमा सत्कार पाइनेछ । आम्दानी बढाउने काम सुरु गर्न पनि सकिनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आलस्य गर्ने बानीले लक्ष्यमा पुग्न अप्ठ्यारो पार्नेछ । अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ । केही चुनौतीहरू देखिनेछन् । पेसा–व्यवसायमा सोचेको फाइदा उठाउन नसकिएला । प्रतिस्पर्धी बढ्नाले समस्या थपिन सक्छ । काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन् । अप्ठ्यारो परिस्थिति सामना गर्नुपर्ला । खर्चका साथै ठगीमा परिने योग भएकाले होसियार रहनुहोला ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
परिस्थिति सोचेजस्तो नहुनाले फाइदा कम हुनेछ । अवसर प्राप्त भए पनि मेसो नमिल्नाले काममा ढिलासुस्ती हुन सक्छ । पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिए पनि गुरुजनको सुझाव र सहयोग लाभदायी बन्नेछ । तत्काल लाभ नभए पनि व्यापारको स्रोत पहिल्याउन सकिनेछ । रचनात्मक काममा जुट्ने समय छ । गरिएका कर्मको सामान्य प्रतिफल पाइनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ । धेरै फाइदा उठाउन नसकिए पनि समस्या सुल्झनेछन् । पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ । भूमि तथा पशुधनबाट लाभ मिल्नेछ । साथीभाइ र सहयोगीका माध्यमबाट काम बनाउन सकिनेछ । टाढिएका आफन्त नजिकिनेछन् । पुरानो सम्झौता भंग हुन सक्छ । महत्त्वाकांक्षी योजना गोप्य राख्नुहोला ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ । मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ । सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन् । लेनदेनमा अलि होसियार रहनुहोला । दिगो काम प्रारम्भ गर्न केही समय पर्खनुपर्ने देखिन्छ । आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन् । काम पूर्ण नभए पनि मिहिनेतले आंशिक लाभ दिलाउनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अवसर आए पनि आत्मविश्वासको कमीले पछि परिनेछ । खर्च हुने डरले सताउन सक्छ । सामान्य आम्दानी भए पनि काम पूर्ण सम्पादन नहुन सक्छ । आफ्ना कमजोरीबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । तापनि सम्पादित कामबाट केही धन लाभ हुनेछ । मिहिनेतले आम्दानी बढ्नेछ । तर, विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने परिस्थिति आउन सक्छ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ । भेटघाटमा अलमलिनाले काममा बाधा हुनेछ । अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिनेछ । तापनि मिहिनेत गर्दा पछिका लागि काम गर्न सकिनेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । सानातिना समस्यामै अल्झनुपर्नेछ । अरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन् ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
केही मात्रामा खर्च बढ्नेछ भने व्यवसायमा लगानी बढाउनुपर्ला । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । अर्थअभाव खट्किए पनि आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ । विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । टाढाका साथीभाइले काममा साथ दिनेछन् । दिगो काममा जग बसाउन सकिनेछ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्