दोहोरो नागरिकता लिने दम्पत्ति पक्राउ

होस्ट खबर २१ असार २०८०, बिहीबार
2 Min Read
Aa

काठमाडौँ : बैतडीकी एक महिलाले फरकफरक नामबाट दुईवटा नागरिकता लिएको पाइएको छ । उनको पहिलो नागरिकतामा रोडिदेवल गाविस–६ बैतडी ठेगाना उल्लेख गरिएकोमा दोस्रो नागरिकतामा भीमदत्त नगरपालिका–५ कञ्चनपुर ठेगाना उल्लेख गरिएको छ ।

उनको २ नागरिकता मात्रै नभई २ नाम, २ पति र जन्ममितिसमेत २ फरकफरक उल्लेख भएको पाइएको छ ।

उनको पहिलो नागरिकतामा नाम किस्मती देवी चन्द, नाप्रन ७३३०१३/४३४, जारी मिति २०६३/१०/८ बैतडी, जन्ममिति २०४६/५/२५ र पतिको नाम वीरेन्द्र चन्द उल्लेख गरिएको छ ।

यसैगरी, दोस्रो नागरिकतामा नाम कलावती चन्द, जन्ममिति २०३९/११/१०, नाप्रन ७५१००१/१३१२६, जारी मिति २०६७/४/२० कञ्चनपुर र पतिको नाम गम्भीर चन्द तथा ठेगाना भीमदत्त नगरपालिका–५ कञ्चनपुर उल्लेख गरिएको छ ।

दोस्रो विवाह गरेकी किस्मतीका पति गम्भीर चन्दले जबर्जस्ती पुरानै श्रीमतीको विवरण राखेर नागरिकता बनाएका हुन् । गम्भीरले आफ्नो पहिलो श्रीमती कलावतीलाई छोडेर नयाँ श्रीमती भिœयाइ उसैको नाम कलावती भन्दै नयाँ नागरिकता बनाएको स्थानीयको भनाइ छ ।

२ नागरिकताका विषयमा वैशाख २८ गते कञ्चनपूरमा मुद्दा दर्ता भएपछि दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । गम्भीर चन्दले किस्मतीसँग तेस्रो विवाह गरेको एक स्थानीयले बताए ।

अहिले दोहोरो नागरिकता लिने चन्दमाथि कारबाही प्रक्रिया अघि बढेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता लोकराज जोशीले भने, ‘पक्राउका लागि कञ्चनपुरबाट चिठी आएकोमा हामीले सम्बन्धित चौकीलाई ताकेता गरेको केही समयपछि उनीहरू आफंै कञ्चनपुर प्रहरीमा उपस्थित भएको भन्ने खबर आयो । कारबाहीका लागि प्रक्रिया अघि बढेको छ ।’

कञ्चनपूर प्रहरीले दोहोरो नागरिकता लिने महिला र उनका पतीलाई नियन्त्रणमा राखेको जनाएको छ । पतीले आफ्नो नामबाट पत्नीको नागरिकता बनाएकाले उनलाई समेत पक्राउ गरेको प्रहरीको भनाइ छ । सोमबार नियन्त्रणमा लिएका उनीहरूमाथि अनुसन्धानका लागि म्याद थप गरी नागरिकता ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

यता गम्भीर चन्दका आफन्तले प्राविधिक कारणले नागरिकताको विवरणमा फरक पर्न गएको दाबी गरिरहेका छन् । कसैले चरित्र हत्या गर्ने उद्देश्यले गलत प्रचार गरिरहेको आफन्तको आरोप छ । राजधानी दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्