आज हरिशयनी एकादशी, घरघरमा तुलसी रोपिँदै

होस्ट खबर १४ असार २०८०, बिहीबार
3 Min Read
Aa

सुर्खेत : असार शुक्ल पक्षको एकादशीलाई हरिशयनी एकादशी भनिन्छ । यस एकादशीका दिन घरघरमा तुलसीको विरुवा सारी चार महिनासम्म विशेष पूजा सुरु गरिन्छ । एक महिनाअघि जेठ शुक्ल एकादशीका दिन घरघरको तुलसी मोठमा राखिएको दलको विरुवा आज मोठमा सारिन्छ ।

सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीक मानिन्छ । आजदेखि कात्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । असार शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म चार महीना भगवान् विष्णु क्षिंरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएका हो ।

भगवान् विष्णु शयन गर्ने चार महिनालाई चतुर्मासा पनि भनिन्छ । यस एकादशीमा नेपाल, भारत लगायतका मुलुकमा बसोवास गर्ने हिन्दू धर्मावलम्बीले व्रत राख्नुका साथै एक पर्वको रूपमा मनाउने गर्दछन् ।

पुराणका मतानुशार भगवान विष्णु यस दिनदेखि चार महिनासम्म ९चतुर्मास० पातालमा राजा बलिको द्वारमा निवास गरेर कार्तिक शुक्ल एकादशीमा फर्कन्छन् । यही प्रयोजनले यस दिनलाई ‘देवशयनी’ तथा कार्तिक शुक्ल एकादशीलाई ‘प्रबोधिनी’ एकादशी भनिन्छ ।

एकादशी व्रतविधि
– एकादशीको दिन प्रातःकाल उठेर घरको सरसफाई तथा नित्य कर्मबाट निवृत्त हुने ।
– स्नान गरेर पवित्र जल घरमा छर्कने ।
– घरको पूजा स्थल वा पवित्र स्थलमा प्रभु श्रीहरि विष्णुको मूर्ति स्थापना गर्ने ।
– मूर्ती सुन, चाँदी, तामा अथवा पितलको हुनु पर्दछ । अन्यथा तस्बिर राख्ने ।
– तत्पश्चात षोड्शोपचार सहित पूजन गर्ने ।
– त्यसपछी भगवान विष्णुलाई पीताम्बर आदिले विभूषित गर्ने ।
– तत्पश्चात व्रत कथा सुन्ने ।
– त्यसपछी आरती गरेर प्रसाद वितरण गर्ने ।
– अन्तमा सेतो खोलले ढाकेको ओच्छ्यान बनाई श्रीविष्णुलाई शयन गराउने ।

पूजा गर्ने व्रतालुले चार महीनासम्म आफ्नो रुचि अथवा अभिष्टका अनुसार नित्य व्यवहारका पदार्थको त्याग र ग्रहण गर्ने । देह शुद्धि या सुन्दरताका लागि पञ्चगव्यको, वंश वृद्धिको लागि नियमित दूधको, सर्वपापक्षय पूर्वक सकल पुण्य फल प्राप्त हुन एकमुक्त, नक्तव्रत, अयाचित भोजन अथवा सर्वथा उपवास गर्ने व्रत ग्रहण गर्ने ।

यो चार महिनामा मधुर स्वरका लागि सख्खर, दीर्घायु अथवा पुत्र–पौत्रादि प्राप्तिका लागि तेल, शत्रुनाशादिका लागि तिलको तेल, सौभाग्यका लागि मिठो तेल, स्वर्ग प्राप्तिका लागि पुष्पादि भोग, प्रभु शयनका दिनहरूमा सबै प्रकारका मांगलिक कार्य जहाँसम्म हुनसक्छ नगर्ने । खाटमा सुत्ने, मैथुन गर्ने, झूठो बोल्ने, माछामासु, मह र अरुले दिएको दही–भात आदिको भोजन गर्नु, मूला, भण्टा आदिलाई पनि खानु हुँदैन । यसलाई त्याग्नु पर्दछ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्