नक्कली भुटानी शरणार्थी प्रकरण: ३२ जना विरुद्ध मुद्दा

होस्ट खबर ८ जेष्ठ २०८०, सोमबार
2 Min Read
Aa

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरिरहेको नेपाल प्रहरीले आफ्नो प्रतिवेदनलाई अन्तिम रूप दिएको छ । प्रहरीले पक्राउ परेका १६ जना र फरारको सूचीमा रहेका १६ जनालाई विपक्षी बनाएर राज्यविरुद्धको अपराध, ठगी र संगठित अपराध भएको निष्कर्ष निकाल्दै प्रतिवेदन तयार पारेको छ ।

यसैबीच प्रहरीले पक्राउ परेका व्यक्तिलाई तीन दिनको म्याद थप गरेर हिरासतमा लिएको छ । उक्त घटनाको अनुसन्धानशुरू गरेको आइतबार ५७ औं दिन पुगेको छ । प्रहरीले बुधबारसम्ममा मुद्दा अदालतमा बुझाउने तयारी गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणलाई लिएर अन्तर्राष्ट्रिय समुदायले समेत चासोका साथ हेरेकाले सरकारले उक्त प्रकरणलाई केही हदसम्म न्याय दिने आशा गरिएको छ ।

प्रहरीले उक्त प्रकरणमा दोषी देखिएका फरार अभियुक्तको बारेमा भने केही खुलाएको छैन । राजनीतिक संरक्षणमा भएको उक्त अपराधमा संलग्न रहेकामाथि कारबाही नहुने हो कि भन्ने आशंका उठिरहेको बेला प्रहरीले राज्यविरुद्धकै अपराधको अभियोगमा प्रतिवेदन तयार पारेपछि पक्राउ परेकामाथि कारबाही हुने आशा पलाउँदै गएको मानवअधिकारवादी अभियन्ता गोपालकृष्ण शिवाकोटीले बताए।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले आरोपीसँगको बयान सकिएको र प्रतिवेदन तयार भएको जानकारी दिँदै १६ जनालाई तीनदिन म्याद थप गरी अन्य अनुसन्धान जारी रहेको जानकारी दिए। नक्कली भुटानी शरणार्थी प्रकरणसँग जोडिएका अझै केही व्यक्ति पक्राउ नपरेपनि हदम्यादका कारण प्रहरीले पक्राउ परेकासँग बयान लिएर प्रतिवेदन तयार पारेको हो ।

प्रहरीले अहिलेसम्म उक्त प्रकरणमा संलग्न रहेको अभियोगमा १६ जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो । पक्राउ परेका आरोपीको बयानलाई आधार मानेर प्रहरीले अझै १६ जना पक्राउ गर्नु पर्ने निष्कर्ष निकालेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array