ओलीको चेतावनी, ‘फिर्ता लिएर पुर्नलेखन नगरे रिङ आउट’

होस्ट खबर ८ जेष्ठ २०८०, सोमबार
2 Min Read
Aa

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमले मुलुकको समस्या समाधान नहुने भन्दै त्यसलाई फिर्ता लिएर पुनर्लेखन गर्न चेतावनी दिएका छन् ।

प्रमुख प्रतिपक्षी दलका एमाले संसदीय दलका नेतासमेत रहेका अध्यक्ष ओलीले आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नीति तथा कार्यक्रम फिर्ता लिएर पुनर्लेखन नगरे ‘रिङ आउट’ गर्ने चेतावनी दिए ।

सरकारले आगामी नीति तथा कार्यक्रम आइतबार पेस गरेको थियो । सोही नीति तथा कार्यक्रमको छलफलमा सहभागी हुँदै ओलीले भने, ‘प्रधानमन्त्रीज्यू प्रस्तावित नीति तथा कार्यक्रम फिर्ता लिनुस् र पुनर्लेखन गर्नुस्, फिर्ता लिनुहुन्न भने छक्का हानेर पठाइदिनुपर्छ, रिङ आउट ।’

यो नीति तथा कार्यक्रमले मुलुकको समस्या समाधान नहुने बताउँदै उनले भने, ‘यस नीति कार्यक्रमले अब हुनेवाला केही छैन । यो पारित गर्न योग्य छैन, पारित गर्नुहुँदैन । सरकारको नीति नै ‘नीति शून्य नीति’ छ, उद्देश्य छैन । कहाँ पुग्ने गन्तव्य छैन । कसरी जाने भन्ने मार्गचित्र छैन, सर्वत्र नीति, शून्य नीतिको अवस्था देखियो ।’

नीति तथा कार्यक्रममा सरकार पूर्णरूपमा चुकेको र असफल भएको दाबी गर्दै ओलीले भने, ‘संविधानले प्रत्याभूत गरेको रोजगारी, आवासलगायतका मौलिक हक र राज्यका निर्देशक सिद्धान्तलाई आधा मानेर नीति कार्यक्रम प्रस्तुत गर्न सरकार पूर्णरूपमा चुकेको छ, असफल भएको छ ।’

अध्यक्ष ओलीले पछिल्लो निर्वाचनमा वर्तमान गठबन्धनले गरेको वाचा र नीति तथा कार्यक्रमलाई दाँजेर अध्ययन गर्दा तालमेल नमिलेको दाबी गरे । राजधानी दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्