पूर्वाधारका पुरानै कार्यक्रममा जोड

होस्ट खबर ६ जेष्ठ २०८०, शनिबार
1 Min Read
Aa

काठमाडौं : सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम नयाँ खालका परियोजनाभन्दा पनि पुरानै परियोजनालाई निरन्तरता दिनेगरी ल्याएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सार्वजनिक गरेको सरकारको नीति तथा कार्यक्रममा पूर्वाधार लक्षित विकास निर्माणमा योजनामा नयाँभन्दा पनि पुरानै खालका योजनालाई अघि सारिएको हो।

सरकारले यसअघि नै केही सीमित पूर्वाधार निर्माणमा हुँदै आइरहेको दुई सिफ्टमा काम गर्ने व्यवस्थालाई प्राथमिकताका साथ अघि सारेको छ। राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम रणनीतिक तथा व्यापारिक महत्वका सडकखण्डहरूको निर्माण तथा स्तरोन्नति गरिने बताए। ‘पूर्व-पश्चिम राजमार्गलाई स्तरोन्नति गर्ने कार्यलाई निरन्तरता दिइनेछ। आगामी वर्ष हुम्ला जिल्ला सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालमा जोडिनेछ,’ उनले भने।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा महाकाली, कर्णालीलगायत करिडोरको निर्माणलाई प्राथमिकतामा राख्ने भएको छ। सरकारले निर्माणाधीन काठमाडौं-तराई मधेस द्रुतमार्ग सडक आयोजनाको निर्माण कार्य २०८३ सालभित्र सम्पन्न गर्ने घोषणा गरेको छ। तर अहिलेको निर्माण गति हेर्दा तोकिएको समयमा आयोजना सम्पन्न हुने छाँटकाट देखिन्न।

सरकारको नीति तथा कार्यक्रममा निर्माणाधीन राष्ट्रिय राजमार्ग र रणनीतिक सडकहरू पाँच वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको छ। नागरिक दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्