कर्णालीमा बन्ने भयो ‘बागीना नाटक घर'(थिएटर)

होस्ट खबर २८ बैशाख २०८०, बिहीबार
3 Min Read
Aa

सुर्खेत : करिब ३ दशक कला संस्कृति संरक्षणमा लागि परेको संस्था बागीना समूहले आप्mनो आगनमा बागीना थिएटर (नाटक घर) बनाउने भएको छ ।

वीरेन्द्रनगर नगरपालिकाका मेयर मोहनमाया भण्डारी(ढकाल) ले आज नाटक घरको शिलान्यास गरेकी हुन् । वीरेन्द्रनगर नगरपालिकाको मुख्य आर्थिक सहयोग र आर्थिक मामिला तथा योजना मन्त्रालय कर्णाली प्रदेशको आर्थिक सहयोगमा थिएटर बन्न लागेको बागीना समूहले जनाएको छ ।

शिलान्यास कार्यक्रममा बोल्दै मेयर भण्डारीले विगत लामो समयदेखि कलाकारहरु रंगमञ्चको अभावमा कला संस्कृतिका गतिविधी गर्दै आएको भएपनि अव नाटकघर मैं यस्ता गतिविधी गर्न सकिने बताइन् । आगामी दिनमा समेत कला संस्कृति संरक्षणमा स्थानीय सरकार जिम्मेवार ढंगले कलाकारलाई सहयोग गर्न तयार रहेको उनको भनाई थियो । वडा नम्वर ८ का अध्यक्ष टिकाराम शर्माले बागीना समूह लामो समयदेखि अनवरत कला संस्कृति संरक्षणमा लागि परेको भन्दै संस्थाको कला यात्रा अव झनै सशक्त रुपमा अगाडी बढ्ने बताए ।

उद्घाटन कार्यक्रममा उपस्थिती बागीना समूहका सल्लाहकार एवं बरिष्ठ कलाकार भीमबहादुर कार्कीले बागीनाको लामो समयदेखिको सपना पुरा भएको बताए । संरक्षक सल्लाहकार गंगा के.सी.ले बागीनाका सवै नाट्य गतिविधी मात्रै नभई गीत संगीत, साहित्य लगायतका कार्यक्रम गर्न पनि नाटक घर आवश्यक रहेको उल्लेख गर्दै सहयोगी अभिभावकका रुपमा नगरपालिका रहेकोमा खुशी व्यक्त गरे । बरिष्ठ कलाकार एवं बागीनाका सल्लाहकार प्रेमदेव गिरीले नाटक घर सुर्खेतका सवै कलाकारको साझा घर भएकाले यसको निर्माण कार्य समयमैं निर्माण गर्न सवैको सहयोग आवश्यक रहेको बताए ।

सल्लाहकार एवं बरिष्ठ कलाकार प्रेमप्रकाश खड्का, पूर्व अध्यक्ष गणेश गौतम, बरिष्ठ कलाकार उमालाल आचार्य, बरिष्ठ कलाकार मञ्जु मेदासी लगायतले नाटक घर बन्ने भएपछि सवै कलाकारहरु निकै खुशी भएको बताए ।

२ सय सिट क्षमताको नाटक घरका लागि चालु आर्थिक बर्षमा २० लाख रकम विनियोजन गरिएको र आगामी आर्थिक बर्षमा थप बजेट विनियोजन गरी प्रकाश, ध्वनी, बस्ने कुर्सी लगायतका कुराहरु व्यवस्थापन गर्दै जाने बागीनाले बताएको छ । बागीनाका कार्यावाहक अध्यक्ष गणेश बस्नेतले थिएटर निर्माणमा सहयोगी सवैलाई धन्यवाद दिए ।

कार्यक्रममा बरिष्ठ नृत्य निर्देशक कुलमान नेपाली, बरिष्ठ कलाकारहरु खम्बराज गिरी, सुन्दरमान श्रेष्ठ, देवराज गिरी, सीता भण्डारी, ज्ञानबहादुर नेपाली, मिलन सुवेदी, दिपक नेपाली, खिम बस्याल, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान सुर्खेतका अध्यक्ष चन्द्र मन्दिर, प्रकाश शाही, शेरबहादुर आचार्य, सुरजा रावल लगायतको उपस्थिती रहेको थियो ।

वि.सं. २०५० सालमा जिल्ला प्रशासन कार्यालय सुर्खेतमा दर्ता भई स्थापना भएको बागीना समूहले कला संस्कृति संरक्षण गर्ने क्रममा धेरै पटक लोक नृत्य र नाटक प्रतियोगितामा राष्ट्रिय स्तरमा प्रथम स्थान हाँसिल गरेको छ भने यस क्षेत्रका फिरन्ते जिवन विताइरहेका राउटे जातिलाई समेत पहिलो पटक खुला स्टेमा निम्त्याएर उनीहरुको कला संस्कृति प्रर्दशन गराएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array