नक्कली भुटानी शरणार्थी प्रकरणः ‘हाइप्रोफाइल’ पक्रनै हम्मे

होस्ट खबर २७ बैशाख २०८०, बुधबार
2 Min Read
Aa

काठमाडौं : नेपाल प्रहरीलाई नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रक्रियामा मुछिएका हाइप्रोफाइललाई पक्राउ गर्नै हम्मेहम्मे परेको छ ।

प्रहरीले सो प्रकरणमा जोडिएका पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई खोजी गरिरहँदा तल्लो तहमा बसेर बिचौलियाको काम गर्नेहरू भने धमाधम पक्राउ पर्दै छन् ।

प्रहरीले मंगलबार रायमाझीको सातदोबाटोस्थित निवासमा खानतलासी गर्दैगर्दा नक्कली शरणार्थी प्रकरणमा बिचौलियाको काम गर्ने रामशरण केसी र गोविन्द चौधरी काठमाडौंबाट पक्राउ परेका हुन् । केसी र चौधरी पक्राउ परेसँगै सो प्रक्ररणमा पक्राउ पर्नेको संख्या १० पुगेको छ । पक्राउ परिसकेका सबैलाई प्रहरीले धमाधम बयान लिइरहेको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले रायमाझीलाई पक्राउ गर्न ७७ वटै जिल्लामा सर्कुलर भइसकेको र प्रहरीका सबै संयन्त्र खटाइएको बताए ।

यसअघि प्रहरीले पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरुङ र सन्दीप रायमाझीलाई पक्राउ गरिसकेको छ । रायमाझी टोपबहादुरका छोरा हुन् ।

टोपबहादुरलाई भने प्रहरीले गत २० वैैशाखदेखि खोजी गरिरहेको छ । उनी प्रहरीको फरार सूचीमा छन् । पक्राउ पुर्जी जारी भएको एक साता बित्दासमेत उनलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । रायमाझीलाई पक्राउ नगर्न उच्च राजनीतिक तहबाट नै लबिइङ हुँदै आइरहेको छ । उनी भागेर भारत पुगेको हुनसक्ने समेत प्रहरीको अनुमान छ । राजधानी दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्